News 24 Television
इरान-इजरायल युद्धको चपेटामा नेपाली, जोगाउने कसरी ? 

काठमाडौँ । इरान र इजरायलबीचको युद्ध चर्किनै रहेको छ । पछिल्लो चार दिन यता दुवै देशले दोहोरो हवाई आक्रमण जारी राख्दा हजारौं नेपालीको ज्यान समेत जोखिममा छ । आफ्ना नागरिक विदेशी भूमिमा युद्धमा फस्दा नेपाल सरकारले हालसम्म पनि खास योजना बनाएको देखिदैन । अवस्था जानकारी गराएर औपचारिकता पु¥याउने बाहेक खास कदम चालेका देखिदैनन् । यो विषम परिस्थिति एवम् संवेदनशिल अवस्थामा नेपालीको त्यहाँ वास्तविक अवस्था के छ त ? सरकारले उद्दार वा अन्य विकल्पबारे सोचेको छ  वा छैन ? 

युद्धका यी भयंकर दृष्यले मानव जीवनलाई समाप्त पार्ने त होइन ? अहिले विश्वसमुदायमा यो चिन्ता व्याप्त छ । इरान– इजरायल युद्ध विगत चार दिन देखि चर्किनै रहेको छ । इजरायलमा केवल इजरायली होइन ।

नेपालीमाथि ठुलाठुला गोलाबारीको हुंकारसहित युद्धपोतहरु फन्को मारिरहेका छन् । पाँच हजार पाँच सयभन्दा बढी नेपालीहरु युद्धको चपेटामा परेर ज्यानको जोखिम मोलिरहँदा नेपाल सरकार भने केवल इजरायलमा अहिलेसम्म हामी ठिकै छौं, हाम्रा नागरिक पनि ठिकै छन् भनि संख्या गन्ने काममै भुलेको छ । इरानमा पनि कूटनीतिज्ञबाहेक १२ नेपाली रहेका छन् । 

इजरायलको हमास आक्रमणमा परेका कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ । विपिनको परिवार उनको प्रतिक्षामा छ । सरकारले विपिन बारे पटकपटक कुटनीतिक पहल गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन् । यस्तो अवस्थामा फेरी इजरायल र इरान युद्धले स्थान पाएको छ । हालसम्म गोलाबारीदेखि हवाई, ड्रोन र मिसाइल आक्रमणबाट एक दर्जन बढि व्यक्तिले ज्यान गुमाइसकेका छन् । 

दुई राष्ट्रबीच युद्ध चर्किदा विभिन्न देशबाट त्यहाँ पुगेका नागरिकले असुरक्षा महसुस गरिरहेका छन् भने उद्घारको अपेक्षा गरिरहेका छन् । नेपालबाट रोजगारीसहित विभिन्न प्रयोजनका लागि युद्धग्रस्त दुवै देशका नागरिक छन् । यहाँबाट कुनैपनि बेला स्वदेश फर्किनु पर्ने अवस्था सिर्जना हुनसक्छ वा भनौं सुरक्षाका दृष्टिले स्वदेश फर्किनुनै बुद्धिमता देखिन्छ । रोजगारीमा गएकाहरुका लागि सरकारले तत्काल कूटनीतिक पहल चालेर स्वदेश फिर्ताको वातावरण बनाउनु पर्ने देखिन्छ ।  यसबारे सांसदहरुले समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

युद्ध यतिकैमा रोकिने अवस्था देखिएको छैन् । अझ शक्ति राष्ट्रहरुले दुबै देशको पक्ष र विपक्षमा उभिने संकेत देखाएका छन् । अमेरिका, रुस, चिन, जर्मनी, फ्रान्स जस्ता राष्ट्रले युद्धको शान्ति भन्दा पनि बढावा दिने अभिव्यक्ति दिइरहेका छन् । इजरायल–इरान युद्धले तेस्रो विश्वयुद्ध निम्तिने सम्भावना बढेको परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् । 

दूतावासमा कसरी सम्पर्क गर्ने ? 

इरान र इनरायलको युद्ध चर्किदा त्यहाँ रहेका नेपालीको उद्घारको चिन्ता बढेको छ । सरकारले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सक्रियता देखाएको छ । इजरायलमा रहेका नेपालीहरुले राजदूतावास तेल अभिभमा सम्पर्क गर्नसक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 
–    नियोग उपप्रमुख तथा प्रवक्ता कुमारबहादुर श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको छ । 
–    श्रेष्ठलाई सम्पर्क गर्न +९७२–५३५३६०७४८ र ०३५१००१११ फोन गर्न सकिनेछ । 
–    [email protected] मा इ–मेल गर्न सकिनेछ । 
–    नेपाली राजदूतावास दोहामा समेत त्यहाँ रहेका नेपालीले सम्पर्क गर्ने सक्नेछन् । 
–    मन्त्रालयले त्यसका लागि मिनिष्टर काउन्सिलर तथा नियोग उपप्रमुख कुमार राईलाई सम्पर्क व्यक्ति तोकेको छ । 
–   राईलाई सम्पर्क गर्न +९७४–५५६१६०४०, +९७४–४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ मा फोन गर्न सकिनेछ भने [email protected] मा इ–मेल गर्न सकिने छ ।  

संयमित हुन संयुक्त राष्ट्रसंघको अपिल, ट्रम्पको धम्की

दुई देश विच युद्ध चर्किदै गएपछि संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले संंयमित हुन आग्रह गरेका छन् । वार्ता मार्फत नै समास्याको समाधान गर्नुपर्नेमा राष्ट्रसंघले जोड दिएको हो । साथै विश्वका महाशक्ति राष्ट्रहरुले समेत इजरायल–इरान युद्ध बारे मुख खोलेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्कीपुर्ण अभिब्यक्ति दिएका छन् भने इरानले ६० दिन अल्टिमेटम नमानेको जिकिर गरेका छन् । चिनले दुबै पक्षलाई सहमति र सद्भावमा अघि बढ्न आश्वान गरेको छ । 

अर्काेतर्फ इरान–इजरायल युद्धलाई लिएर शक्ति राष्ट्रहरु दुई धुब्रमा बाँडिएका छन् । साउदी अरबले इजरायली आक्रमणको कडा कडा विरोध गरेको छ । लेबनान, कतार र टर्कीले इजरायली कदमको आलोचना गरेका छन् भने बेलायत, फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, चेक रिपब्लिकले भने इजरायलको पक्षमा देखिएका छन् । यसरी शक्ति राष्ट्रहरु विच नै पक्ष–विपक्षको होड चल्दा कत्तै तेस्रो विश्वयुद्ध निम्तिने त होइन भन्ने चिन्ता बढको छ । 

 


 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update