
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गरेका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको भन्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे ।
स्टार्टअप प्रवर्द्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेकाे भन्दै उनले रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकता तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत दाबी गरे ।
अर्थमन्त्री पौडेलले भने, ‘अहिले निजी क्षेत्र र सहकारी क्षेत्रले अर्थतन्त्रको शिथिलतालाई चिर्नको निम्ति अगामी आर्थिक वर्षको बजेट उपयोगी हुने टिप्पणी भइरहेको छ । बजेटले मितव्ययिताको पक्षमा, सुशासनको पक्षमा केही साहसिक एवं उपयोगी कार्यक्रमहरू अघि सारेको छ । स्टार्टअपको सन्दर्भमा आईटी क्षेत्रलाई प्रमोसन गर्ने धेरै महत्त्वपूर्ण कार्यक्रमहरू धेरै वटा मन्त्रालयमा प्रस्ताव गरिएको छ । रेमिट्यान्सको सन्दर्भमा समेत बजेटले केही कुरा बोलेको छ अझै थप मौद्रिक नीतिले बोल्छ । कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन भएन होला आनुपातिक रुपले बजेट वृद्धि गरिएको छ । युवाहरूलाई देशभित्रै रोक्नको लागि अनेकन कार्यक्रमहरू अघि सारिएको छ । दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसाथ गरेर बजेट प्रस्तुत गरिएको छ ।’
अगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पुर्याउने उनको विश्वास छ ।