News 24 Television
कसले कसरी बिगार्यो नेपालको शिक्षा ? पुनःसंरचना र परिवर्तनको बहस

काठमाडौं । विदेशी विश्वविद्यालय प्रवेशका लागि नेपाली विद्यार्थीहरू कडा मेहेनतसहित तयारीमा जुटेका छन्, तर शिक्षाविद्हरू भने देशको शिक्षा प्रणालीलाई ‘स्वदेशमुखी’ बनाएर आफ्नै भाषा र आधारभूत ज्ञानमा बल दिनुपर्नेमा जोड दिइरहेका छन् । 

जुन विद्यार्थीले आफ्नै भाषा र अंक छुट्याउन सक्दैन उसले विदेशी शैक्षिक चुनौतिहरू कसरी सामना गर्ने ?  यो प्रश्नले नेपालमा दीगो शिक्षा सुधारको आवश्यकता पुनः उजागर गरेको छ । 
 
जुन विद्यार्थीले सतासी, अठासी र उन्नअस्सी छुट्ट्याउन सक्दैन उसले अमेरिका र अष्ट्रेलिया के बुझ्ने?” यो भनाइ शिक्षाविद्हरूले शिक्षाप्रणालीप्रति देखाएको गहिरो असन्तुष्टि र निराशाको प्रतिनिधित्व गर्दछ । दशकौंदेखि चलिरहेको शिक्षा सुधारको बहसमा शिक्षाविद्हरू र विद्यार्थीहरूबीच अन्तर देखिएको छ । 

जहाँ विद्यार्थीहरू विदेशी विश्वविद्यालय प्रवेशका लागि स्याट, आईएलटिएस, पीटीईजस्ता परीक्षामा दिनरात मिहिनेत गरिरहेका छन्, त्यहीँ अर्कोतर्फ शिक्षाविद्हरू भने शिक्षा प्रणालीलाई ‘स्वदेशमुखी’ बनाइदिन सरकारलाई आग्रह गरिरहेका छन् ।

विदेशी नक्कलले शिक्षा प्रणालीलाई बनायो उपेक्षित

हालको शिक्षापद्धति मुख्यतया अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको पाठ्यक्रम र मूल्यांकन प्रणालीको नक्कलमा केन्द्रित छ । यसले नेपाली सामाजिक र सांस्कृतिक यथार्थलाई पाठ्यक्रममा समेट्न असफल भएको शिक्षाविद्हरूको आलोचना छ । 

खेतीपाती, बन, गाउँको जीवनशैली, सीप र संस्कृतिलाई पाठ्यक्रममा समावेश नगरेकाले विद्यार्थीहरूले आफ्नो जरा र पहिचानबाट टाढिए जस्तो अनुभूति गरेको उनीहरूको भनाइ छ । परीक्षामुखी, रटन्ते, अंग्रजीमूलक शिक्षा प्रणालीले विद्यार्थीहरूलाई सृजनशील र व्यवहारिक शिक्षा दिन सकेको छैन । 

स्थानीय भाषा र संस्कृतिलाई उपेक्षा गर्ने प्रवृत्ति अझै प्रबल रहेको छ भने मातृभाषामा पढ्दा विद्यार्थी ‘पछाडि परिन्छ’ भन्ने आम सोच पनि समस्या बनिरहेको छ ।

गुणस्तरीय शिक्षक र व्यवहारिक शिक्षा आवश्यक

नेपालको शिक्षा प्रणाली अझै परीक्षा केन्द्रित रहेकाले विद्यार्थीहरूको समग्र सोच र व्यवहारिक ज्ञानमा प्रभाव पर्न थालेको छ । शिक्षकहरूको गुणस्तरमा सुधार नआउँदा गुणस्तरीय शिक्षा उपलब्ध गराउन समस्या उत्पन्न भएको उल्लेख छ । शिक्षाविद्हरूका अनुसार व्यावहारिक र आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको अभावले आगामी पुस्ताको भविष्य जोखिममा पार्न सक्छ ।

विदेशी शिक्षा प्रणालीलाई व्यवहारमा उतार्ने र राष्ट्रिय शिक्षा प्रणाली सुधार्ने कसरी ? 

–    प्रदेश र पालिकाले आफ्ना भौगोलिक र सामाजिक सन्दर्भअनुसार पाठ्यक्रम विकास   गर्ने

–    शिक्षकहरूलाई स्थानीय सीप, समाज र परिस्थिति बुझाउने तालिम प्रदान गर्ने

–    विशेषगरी आधारभूत तहमा मातृभाषा वा नेपाली भाषामा शिक्षण अनिवार्य गर्नुपर्ने 

–    कृषि, सिलाइ–बुनाइ, उद्यमशिलता जस्ता व्यावसायिक विषयहरू विद्यालय तहबाटै सिकाइने व्यवस्था गर्नुपर्ने

–    शिक्षामा क्षेत्रीय असमानता अन्त्य गर्न विशेष नीति र कार्यक्रम ल्याउन आवश्यक 
शिक्षाविद्हरूको भनाइमा शिक्षा प्रणाली सुधार सरकारको मात्र जिम्मेवारी होइन समग्र समाजको सक्रिय सहभागिता र दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । 

यदि अहिलेको प्रणालीलाई वर्तमान आवश्यकता अनुसार पुनर्संरचना नगरे आगामी पुस्ताको अवसर र सम्भावनामा गम्भीर असर पर्ने सम्भावना उच्च रहेको छ । यसका लागि नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र स्रोत व्यवस्थापनमा सरकारको सतर्कता आवश्यक देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update