काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११, १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष करिब ५ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने अनुमान गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११, १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष छात्रवृत्तिका लागि १६ हजार ५ सय ४९ छात्र, १० हजार ३ सय ३३ छात्रा र ६ जना अन्य गरी कुल २६ हजार ८ सय ८८ जनाले आवेदन दिएका थिए । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । महानगरका अनुसार परीक्षा ८३ वटा केन्द्रमा सञ्चालन गरिएको थियो ।
नतिजाअनुसार एक जना विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन् । त्यस्तै एक जनाले ९१ अंक प्राप्त गर्दा पाँच जना विद्यार्थीले समान ९० अंक ल्याएका छन् । छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले अध्ययन अवधिभर सरकारी दस्तुरबाहेक कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु नपर्ने महानगरका शिक्षा विभागीय प्रमुख नमराज ढकालले बताएका छन् ।
महानगरका अनुसार सार्वजनिक गरिएको नतिजा प्रारम्भिक भएकाले योग्यताक्रम वा प्राप्तांकमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्नेछन् । पुनर्योगका लागि जेठ २० गते कार्यालय समयभित्र शिक्षा विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
यसका लागि एक हजार राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै नाम, लिङ्ग वा आरक्षणसम्बन्धी विवरण सच्याउनुपर्ने भए आवश्यक प्रमाणसहित सोही अवधिभित्र निवेदन दिन सकिनेछ ।
पुनर्योग प्रक्रिया सम्पन्न भएपछि अन्तिम योग्यताक्रम सूची सार्वजनिक गरिने र त्यसपछि विद्यालय छनोट, म्याचिङ तथा विद्यार्थी मनोनयन प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । महानगरले संस्थागत विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
यस वर्ष करिब ५ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने अनुमान गरिएको छ । आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमबाट अहिलेसम्म करिब १५ हजार विद्यार्थी लाभान्वित बनेको महानगरले दाबी गर्दै आउको छ ।