काठमाडौं । उच्च शिक्षा क्षेत्रमा वर्षौंदेखि मौलाउँदै आएको एउटा बेथिति अहिले नियन्त्रणको दिशातर्फ अघि बढिरहेको छ । अध्ययन बिदाको सुविधा लिएर विदेश जाने तर सेवामा नफर्किने प्रवृत्तिविरुद्ध त्रिभुवन विश्वविद्यालयले थालेको अभियानले उल्लेखनीय परिणाम दिन थालेको छ ।
हालसम्म ४१ जना प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ भने थप दर्जनौँ प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा छन् ।
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोगविरुद्ध थालेको अभियानबाट उल्लेखनीय सफलता प्राप्त गरेको छ । अध्ययन बिदा लिएर विदेश गएर सेवामा नफर्किएका ४१ प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाख ५६ हजार ८ सय ४ रुपैयाँ असुली गर्दै उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ ।
छानबिन समितिका अनुसार १९१ प्राध्यापकमध्ये ६२ जनाले रकम फिर्ता गर्न निवेदन दिएका छन् । जसमध्ये ५४ जनालाई आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार भइसकेको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षामन्त्री सस्मित पोखरेलको सक्रियतापछि असुली प्रक्रिया तीव्र बनेको हो । मन्त्री पोखरेलले यसलाई उच्च शिक्षामा उत्तरदायित्व र अनुशासन कायम गर्ने महत्वपूर्ण उपलब्धि बताएका छन् ।
कानुनी प्रक्रियाअनुसार कारबाहीको चेतावनी
त्रिविका निमित्त उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूलाई कानुनअनुसारको बिगो रकम शीघ्र बुझाउन आग्रह गरेका छन् ।
उनले विश्वविद्यालयले सबै कानुनी प्रक्रिया पूरा गर्दै पटक–पटक सूचना प्रकाशित गरिसकेको उल्लेख गर्दै निर्धारित समयमा सम्पर्कमा नआए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् ।
नाम सार्वजनिक गर्ने तयारी
छानबिन समितिले अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूबाट रकम असुलीका लागि निरन्तर सूचना जारी गर्दै ताकेता गरिरहेको छ । बारम्बार आग्रह गर्दा पनि रकम नतिर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
विश्वविद्यालयका अनुसार एक प्राध्यापकले १० लाखदेखि ५० लाख रुपैयाँसम्म फिर्ता गर्नुपर्ने हुन सक्छ । समितिले छिट्टै प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार, शिक्षा मन्त्रालय र विश्वविद्यालय प्रशासनको सक्रियताले असुली प्रक्रिया प्रभावकारी बनेको छ भने बाँकी रकम उठाउन तथा कानुनी कारबाहीलाई थप तीव्र बनाइने संकेत गरिएको छ ।
