News 24 Television
व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैन : सांसद कार्की

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताए । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताए । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, 'कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरुको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन । राष्ट्रलाई कर पनि चाहिन्छ । तर कर लगाउनेको पनि एउटा सीमा हुन्छ । सुन चाँदी व्यवसायीहरुले जुन माग राख्नुभएको छ, मैले बुझेअनुसार सबैको एउटै किसिमको राय बुझेको छ । विनियोजन विधेयकमा संसदमा छलफल भइरहेको छ । उहाँहरुको जायज मागलाई हामीले यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्नुपर्छ । चोरी, फटाईं छ भने अनुगमन गरौँ, सुन चाँदी व्यवसायीको संरक्षण गरेनौँ भने व्यवसायको संरक्षण गर्ने र आर्थिक समृद्धि हुँदैन । सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ ? सटर धेरै भन्दा धेरै खुल्नुपर्छ । त्यो वातावरण हामीले बनाउनुपर्छ ।'

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गरे । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update