News 24 Television
अमेरिकी सैन्य अखडामाथिको हमला बन्यो युद्धविरामको बाटो  

काठमाडौं । इजरायल र इरानबीच भएको युद्ध १२ दिनपछि शान्तिपूर्ण बाटोमा अघि बढ्ने अपेक्षा गरिएको छ । खासगरी इरानको परमाणु कार्यक्रमलाई नष्ट गर्ने भन्दै इजरायलले इरानमाथि हमला थालेको थियो ।

इजरायलको सारथि बन्दै अमेरिकाले इरानको परमाणु कार्यक्रम लक्षित हमला गरेपछि मध्यपूर्व झनै अशान्ततिर अघि बढ्यो । यद्यपि अमेरिकाविरुद्ध इरान लड्न नसक्ने आकलन भइरहदा अमेरिकी सैनिक लक्षित इराक र कतारमा भएको हमलाले युद्धलाई नयाँ मोडमा ल्याइदिएको छ । 

इरानको परमाणु कार्यक्रमकाबारेमा अमेरिका र इरानबीच वार्ता प्रक्रिया चलिरहेकैबेला इजरायलले इरानमाथि एकाएक गरेको हमलाले वार्ता प्रक्रिया नै भाँडियो । हमलाको प्रतिवाद गर्दै इरानले पनि इजरायलमाथि प्रतिआक्रमण शुरु ग¥यो । इजरायलको आक्रमणले इरानले ठूलो भौतिक तथा मानवीय क्षति समेत ब्यहोर्यो । 

इजरायली हमलामा ५ सय बढी इरानी मारिए भने इरानको अक्रमणमा परि इजरायलमा २४ जना बढीको ज्यान गयो । तर आक्रमण शुरु गरेको इजरायलको इरानको परमाणु कार्यक्रम नष्ट गर्ने क्षमता नहुँदा अन्योलमा थियो । 

१५ दिन पर्खिन आग्रह गरेको अमेरिकाले एकएक इरानको परमाणु कार्यक्रम स्थलमा हमला गरिदियो । अमेरिकी हमलाले इजरायल अझ बढी हौसियो भने इरान अमेरिकाप्रति क्रुर बन्न पुग्यो । फलस्वरुप आफ्नो परमाणु कार्यक्रमलाई विफल बनाउने अमेरिकालाई जवाफ दिने चेतावनी इरानले दिइरहेको थियो । 

‘हर्मुज स्ट्रेट’को इरानी अस्त्र 

अमेरिकी हमलापछि चुर बनेको इरान विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने योजनामा अघि बढ्यो । फलस्वपरुप इरानको संसदले आइतबार ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्यो । संसदबाट पारित भएको उक्त प्रस्तावमा राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिनुपर्ने प्रावधान थियो । 

‘हर्मुज स्ट्रेट’ बन्द गरेमा अमेरिकालाई मात्र होइन, विश्व अर्थतन्त्र नै तहसनहस पार्छ । स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्वपूर्ण समुद्री मार्ग मानिन्छ ।

विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत लिक्विफाइड न्याचुरल ग्यास यहि मार्गबाट ढुवानी हुन्छ । कच्चा तेल ब्यापारको प्रमुख मार्ग बन्द भएमा खाडी मुलुकका साथै चीनको अर्थतन्त्र तहसनहस नै बन्नेछ । अमेरिकी आवेगले आफूलाई साथ दिने मुलुकको इरान वैरी नबन्ने विश्लेषण पनि भइरहेका थिए । तर पनि इरानले यस्तो कदम नचाल्ला भन्ने अवस्था पनि थिएन । 

अमेरिकामाथि धावा बोलेपछि युद्धविरामको बाटो 

आइतबार संसदबाट ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको भोलिपल्ट सोमवार राती कतार र इराकमा रहेको अमेरिकी सैन्य अखडामा हमला गरि इरानले अमेरिकामाथि पनि धाबा बोल्यो । यो हमलाका कारण नेपालको उडानसमेत प्रभावित बन्न पुग्यो । यो घटनाले मध्यपूर्वको अवस्था झनै सनसनीपूर्ण भयो । 

अमेरिकीमाथि नै भएको इरानी आक्रमण झनै प्रतिवादक बन्ने तथा मध्यपूर्वले ठूलो नोक्सानी ब्यहोर्ने आकलन भए पनि यसले युद्धविरामको बाटोतर्फ धकेल्यो । अमेरिकाले तत्कालै इजरायललाई युद्ध रोक्न सहमत गराउँदा कतारले इरानलाई रोक्न राजी बनायो । 

युद्धविराम घोषणा गर्न ट्रम्पको हतारो 

इरानी हमला लगत्तै मंगलबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान युद्धविरामका लागि सहमत भएको सन्देश समाजिक सञ्जालबाट सार्वजनिक गरे । तर ट्रम्पको सन्देश वास्तविकता तर्फ अघि बढ्ला कि अफवाह हो भन्ने अन्योलकै बीच इजरायलले युद्ध रोकेमा आफूले नगर्ने इरानले जवाफ फर्कायो । 

युद्ध रोक्नका लागि इरानको समयसीमाभित्रै इजरायलले विज्ञप्ति नै जारी गरे युद्धविरामको बाटो अवलम्बन गरेको जानकारी गरायो । तर त्यसको ३ घण्टापछि इजरायलमा इरानले मिसाइल प्रहार गर्यो । उक्त हमलामा ४ जनाको मृत्यु हुनाका साथै डेड दर्जन बढी घाइते भए । 

उक्त हमलालाई लिएर युद्धविराम उलंघन गरेको आरोप इजरायलले इरानमाथि लगाएको छ । युद्धविरामको चर्चा परिचर्चाकाबीच छिटफुट घटनाहरु दुवै देशबीच भइ नै रहेको छ ।

यो युद्धविरामसँगै अघि बढ्ने शान्ति वार्ताले इरानको आणविक कार्यक्रम सदाका लागि बन्द गर्ला वा खामेनीलाई सत्ताच्यूत गर्ने दिशातर्फ अघि बढ्ला भन्न मुश्किल छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update