
झापा । अमेरिकाले निष्कासन गरेका चारजना भुटानी नागरिक बिचल्लीमा पर्ने भएका छन् । अमेरिका निष्कासन र भुटानले अस्वीकार गरेपछि भारत हुँदै झापाको बेलडाँगी आइपुगेका चारजना भुटानीलाई नेपालले समेत निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूले थप समस्या झेल्नुपर्ने भएको हो ।
अमेरिकाले निष्कासन गरेका चारजना भुटानी नागरिक बिचल्लीमा परेका छन् । नेपालको अध्यागमन विभागको निर्णयका कारण आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङ बिचल्लीमा पर्ने भएका हुन् ।
नेपालको अध्यागमन विभागले ती चारजना नागरिकहरू भुटानी भएको र उनीहरूले भुटान सरकारले जारी गर्ने कागजात पेस गर्नुपर्ने निर्णय गरेको छ । जबकि अमेरिकाले निष्कासन गर्ने क्रममा वाशिंगटन डीसीस्थित भुटानको दूतावासले उनीहरूलाई जारी गरेको ट्राभल डकुमेन्ट –यात्रा अनुमतिपत्र थिम्पुमा ओर्लिए लगत्तै खोसेर भुटान सरकारले नेपाल पठाएको थियो ।
नेपालको अध्यागमनले थप उनीहरूलाई समस्या पर्नेगरी भुटानले जारी गरेको ट्राभल डकुमेन्टसहितको कागजात पेस गर्न भनेको छ । तर, भुटानी शरणार्थीको हैसियतले नेपाल बसोबास गरेको र १० वर्षअघि नै नेपालबाट तेस्रो मुलुकमा पुनर्वास भइसकेका उनीहरू यसबाट थप समस्या भएको बताउँछन् ।
उनीहरुले पुनर्वास भएको देश अमेरिकाले आफ्नो देशबाट निष्कासन गरी पैतृक देश भुटानमा ल्याई छोडी दिएको तर भुटानमा बस्न सक्ने अवस्था नरहेकाले भारत हुँदै नेपाल आइपुगेको व्यहोरा खुलाएका छन् । यसबाट उनीहरु भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको र प्रवेश हुने क्रममा विदेशी नागरिकले प्रवेशस्थलबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्नुपर्नेमा सो नगरिएको अध्यागमन विभागको भनाइ छ ।
गैरकानुनी तरिकाले नेपाल प्रवेश गरेपछि अध्यागमनले चारैजनालाई जनही ५ हजार जरिवाना पनि तोकेको छ । अध्यागमन ऐन, २०४९ को दफा ३९१० मा’ कुनै पनि विदेशीले राहदानी र भिसा नलिइ नेपालभित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन ’भन्ने व्यवस्था छ ।
त्यस विपरीत कार्य गरेको भन्दै अध्यागमनले उनीहरूलाई जरिवाना तोकेको हो । नेपाल प्रवेश गरेको मितिदेखि उनीहरूसँग भिसा शुल्क, विलम्ब शुल्क लगायतका दस्तुर लिई प्रवेश भिसा जारी गर्न निर्देशन दिइएपनि उनीहरूसँग भुटानको राहदानी तथा भिसा जारी गर्न आवश्यक यात्रा सम्बन्धी कागजात छैन ।
भारत हुँदै झापा आइपुगेका आशिष, सन्तोष, रोशन र अशोकलाई २०८१ चैत १५ गते जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको थियो । प्रहरीले बिना कागजात आएको आरोपमा पक्राउ गरेर उनीहरुलाई अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाएको थियो ।
चारजनाले आवश्यक कागजात पेस गरेपछि निष्कासनको लागि नियमानुसार प्रक्रिया अघि बढाइने अध्यागमन कार्यालयले जनाएको छ । तर, उनीहरूलाई भुटानले आवश्यक कागजात दिन असंभव जस्तै रहेको छ । आवश्यक कागजात पेस नगर्दासम्म उनीहरूलाई शरणार्थी शिविरमा राख्ने अनुमति दिइएको छ । आशिष, सन्तोष र अशोकलाई बेलडाँगी शरणार्थी शिविर र रोशनलाई पथरी शरणार्थी शिवरमा बस्न अध्यागमनले अनुमति दिएको छ ।
नेपाल बसाईका क्रममा उनीहरुलाई कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न निर्देशन पनि दिइएको छ । त्यस्तै उनीहरूको बासस्थानबारे नेपाल प्रहरीको सम्बन्धित इकाइलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ । सर्वोच्च अदालतले चारैजना भुटानी शरणार्थीहरूलाई स्थान हद तोकेर अनुसन्धान गर्न आदेश दिएको थियो ।