News 24 Television
सुदूरपश्चिमको राजधानी डुबानमा (भिडियो) !

कैलाली । आइतबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ वस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका वस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । लगातारको वर्षापछि धनगढी बजार क्षेत्रसहितका वस्तीहरु जलमग्न बनेका छन् । 

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंकालगायतका बस्तीका कैयौँ घरमा पानी पसेको छ । डुबानमा परेर फसेका धनगढी उपमहानगरपालिका– ७, बेलीगाउँका सात जना र धनगढी– १३, श्रीलंकाका चार जना गरी ११ जनाको उद्धार गरिएको छ । विद्यालय क्षेत्र डुबानमा परेपछि धनगढीको एक्सीस विद्या आश्रम, ऐश्वर्य माध्यमिक विद्यालय लगायतका विद्यालयले विदा दिएका छन् भने वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

यस्तै, धनगढीमै रहेको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ । अस्पतालले स्वीपर लगाएर पानी फालिरहेको जनाएको छ । यस्तै, प्रदेशको स्थायी राजधानी घोषणा भएको गोदावरीका पनि थुप्रै बस्ती डुबानमा परेका छन् ।

सोमबार साँझसम्मको रेकर्ड हेर्दा पछिल्लो २४ घण्टामा कैलालीमा २१३ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको अत्तरिया कार्यालयले जनाएको छ । यहि अवधिमा सबैभन्दा बढी वर्षा कञ्चनपुरको बेलौरीमा २६४.६ मिलिमिटर मापन भएको छ । धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेपछि धनगढीमा डुबानको समस्या निम्तिएको बताइन्छ । ‘सडक सबै उच्च भए, बस्ती होचा भए, त्यसले पनि डुबानको समस्या निम्त्याएको छ । धनगढीमा पछिल्लो समय बनेको मोहना पुल, अत्तरियाको छ लेन सडक, मुख्य सडक र अन्य भित्री सडकको उचाइ बस्तीभन्दा बढी हुँदा बस्तीमा पानी जम्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा निरन्तर परेको अविरल वर्षाले जनजीवन संकटमा परेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका हजारौँ घर डुबानमा परेका छन् भने सुरक्षाकर्मीहरूले बाढीबाट फसेकाहरूको उद्धार गरिरहेका छन्। धनगढी उपमहानगरपालिका भएर पूर्वतिर बग्ने मोहना नदीसँग जाडिएका उपमहानगरका वडा नम्बर १, २, ३, ८ र १३ नम्बर वडाका करिब १५० घरहरू डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाँच परिवारको घरभित्र पानी पसेकाले अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update