
ओखलढुङ्गा । कृषी क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पहाडी जिल्ला ओखलढुंगामा पछिल्लो समय आधुनिक र ब्यवसायिक कृषीतर्फ युवाको आर्कषण बढ्दो छ । परम्परागत खेतीप्रतिको घट्दो चासो, बदलिँदो मौसम तथा आयआर्जनको नयाँ बिकल्पको खोजीले युवाहरुलाई अहिले बैकल्पिक कृषी पद्धतितर्फ प्रेरित गरिरहेको छ । यसै सन्र्दभमा ओखलढुंगा जिल्लामा ब्यवसायिक कफि खेतीको पनि राम्रो सम्भावना देखिएसँगै स्थानीय युवाहरु सामूहिक रुपमा कफी खेतीमा जुटेका छन ।
कफि खेतिको राम्रो सम्भावना देखिएपछि ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ का केहि युवाले जिल्लामै ब्यवसायिक कफी खेती बिस्तार गरेका छन । यहाँको मौसम र भौगोलिक बनावट कफिका लागि उपयुक्त देखिएपछि उनिहरुले यसलाई ब्यवसायिक रुपमा अगाडी बढाउन थालेका हुन । सरकारी अनुदान सहित झन्डै ५० लाख रुपैयाँको लागतमा उनीहरुले सिद्धिचरण नगरपालिका १२ स्थित गोगुनेमा सामुहिक रुपमा फर्म नै दर्ता गरेर १४० रोपनी भन्दा बढी जमिनमा कफी खेती बिस्तार गरेका हुन ।
यस अघिपनि ओखलढुंगाका केहि क्षेत्रमा छिटपुट रुपमा कफी खेतीको सुरुवात भने भैसकेको थियो । तर युवाहरुको संलग्नतामा अहिले विस्तार गरिएको यो कफिखेती जिल्लाकै सबैभन्दा ठूलो परिमाणको हो । अहिले उनिहरुले आफ्नो फर्ममा ५ हजार भन्दा बढी अराबिका जातका कफिको बिरुवा लगाएका छन । प्रशस्त मात्रामा उत्पादन दिन थालेपछि यसलाई जिल्लामै प्रसोधन तथा ब्राण्डिङ गरि जिल्ला बाहिर निर्यात गर्ने उनीहरुको योजना छ ।
भुगोल, हावापानी र माटोको हिसाबले ओखलढुंगामा अराबिका कफीको राम्रो सम्भावना देखिएको छ । परम्परागत खेतीमा मेहनत धेरै तर उत्पादत भने लागत खर्च भन्दा कम हुन थालेपनि अहिले परम्परागत खेतीको विकल्पको रुपमा कफी जिल्लामा पहिलो सूचीमा छ । कफि खेती ओखलढुंगामा गरिबी निवारण, रोजगारी सिर्जना, वातावरणीय संरक्षण तथा दिगो आयआर्जनको भरपर्दो श्रोत बन्दै गएको छ । युवाहरुको यो पहललाई जिल्लाका सरोकारवाला निकायले समेत साथ दिईरहेका छन् ।
नेपालमा कफि खेतीको अवस्था र सम्भावना
नेपालमा कफी खेतीको सम्भावना निकै सकरात्मक छ । मध्यपहाडी क्षेत्रहरूमा ८००देखि १,६०० मिटर उचाइको भूमि कफी खेतीका लागि उपयुक्त छ । नेपालमा विशेषगरी गुल्मी, स्याङ्जा, कास्की र पाल्पामा लामो समयदेखि व्यवसायिरुपमै कफी खेती हुँदै आएको छ ।
नेपालको हावापानी र माटो अराबिका कफीका लागि उपयुक्त छ । हाल करिब ४ हेक्टर जमिनमा कफी खेती हुँदै आएको छ । नेपालमा उत्पादित कफिले स्वदेशकै माग धान्न समेत सक्दैन । तर तालिम, प्रविधि र व्यवसायिकरुपमै उत्पादन क्षमता बढाउने हो भने नेपालमा उत्पादित कफिले अन्तराष्ट्रियरुपमै पनि राम्रो बजार पाउन सक्छ । कफी खेतीले ग्रामीण रोजगारी र आर्थिक समृद्धि ल्याउन सक्ने भएकाले सरकारी सहयोग, नीति र लगानी आवश्यक छ ।