News 24 Television
ट्रम्प भर्सेस पुटिनको सम्भावना ! गाजामा हेर्नै नसकिने दृष्य !

काठमाडौं । विश्वमा अहिले दर्जनौं देशहरु अशान्त छन् । त्यसमाथि पनि विश्वशक्ति राष्ट्रका रुपमा आफुलाई अब्बल बनाएकाहरु बीचको टकरावले युद्ध, गोलाबारी चलिरहेका छन् । 

इजरायलले गाजामाथि जारी राखेको नरसंहार यतकातिर छदैछ, अर्कातिर फेरि अमेरिका र रुसबीच युक्रेनको विषयलाई लिएर टकराव उच्च बनिरहेको छ । 

विश्वशक्ति राष्ट्रहरु शक्ति प्रदर्शनमा व्यस्त छन् । कहिले कतै त कहिले कतै गोलाबारी गर्ने अनि नरसंहार मच्चाउने कार्यमा व्यस्त रहेका उनीहरुकै कारण विश्वनै अशान्त अवस्थामा छ । 

केहि हप्ता पहिलेमात्रै झण्डै तेस्रो विश्वयुद्धको शुरुवात पो हुन्छ कि भन्ने प्रकृतिको युद्ध चल्यो अमेरिका र इरानबीच । इजरायलले निरन्तर आक्रमण लगाएतका कार्य गर्दै आएपछि इरानले पनि सोझै आक्रमण गर¥यो । 

जसमा प्रवेश ग¥यो अमेरिका । यो भयानक संकट केहि समयका लागि थामथुम भएको त छ तर, गाजामा इजरायलले गर्दैआएको नरसंहार चलिरहेको छ । यता, अहिले रुस र अमेरिका बीच फेरि टकराव बढ्ने अवस्था देखिएको छ । 

पछिल्ला प्रतिक्रिया र आगामी कदमका संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको समेत बताए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको  बताए । तरपनि अवस्था भने सामान्य बन्न सकेन । 

रुसी आक्रमणले तनाव

युक्रेनमा रुसी आक्रमण जारी नै छ । पछिल्लो पटक रुसी आक्रमणपछि युक्रेनभरि हवाई साइरन बजेको थियो । राजधानी किभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । 

युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइलमध्ये धेरैलाई नष्ट गरेका थिए । किभमा कम्तीमा २६ नागरिक घाइते भएका छन् । किभस्थित पोल्यान्डको दूतावासमा समेत क्षति पुगेको छ । कर्मचारीहरू सुरक्षित छन् । रुसले आफ्नो उद्देश्य शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको जनाएको छ । आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने रुसले जनाएको छ । त्यसै दिन युक्रेन र रुसबीच बन्दी साटासाट पनि गरिएको छ । त्यो कार्य अघिल्लो वार्ताको निरन्तरता हो ।

गाजाको कारुणीक अवस्था : हमास युद्धविराम प्रस्तावमा वार्ता गर्न तयार

हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् । 

हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ । यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक भएको बताएको छ । 

हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकेतको रूपमा लिँदै, यो द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए । गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको थियो, जब हमासले इजरायली क्षेत्रमा हमला गरेको थियो ।

युद्धविरामका लागि यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो, जसमा इजरायली बन्धकहरू साटो प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिएको थियो । 

इजरायली प्रधानमन्त्री नेतान्याहूले हाल गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता जनाएका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले गाजाका सर्वसाधारणको सुरक्षाका लागि आफू गम्भीर रहेको धारणा व्यक्त गरेका छन् । 

यतिमात्रै होइन विश्वका अन्य राष्ट्रहरु बीच पनि शक्ति संघर्ष जारी छ तर त्यसले भयानक रुप लिन मात्रै बाँकी हो । त्यसमाथि व्यापारका क्षेत्रमा प्रत्यक्षसँग सित युद्धका घटनापनि बढ्दो क्रममा छन् । अमेरिकासँग क्यानडालगाएत युरोपेली केही मुलुकहरु सन्तुष्ट छैनन् । मेक्सिकोसँगको द्धन्द्ध पनि स्थायी जस्तै बनिरहेको छ । यसरी हेर्दा विश्वमा द्धन्द्ध र अशान्तिका घटना बढ्ने क्रम रोकिएको छैन ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update