
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् ।
मंगलवार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दिगो पूर्वाधार विकास समग्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै सोही अवधारणालाई आत्मसाथ गरी सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएको जानकारी दिए ।
सूचना प्रविधि क्षेत्र मुलुकको आर्थिक विकासको अभिन्न अंगको रुपमा तिब्र गतिमा अगाडि बढेको बताउँदै अग्रवालले उद्योगहरुमा नियमित विद्युत आपूर्ति नभएकोले उत्पादन समेत बढ्न नसकेको गुनासो गरे । एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र अर्कोतर्फ विगतमा नियामक निकायले लिएको नीतिका कारण लगानीकर्ता लगानी गर्न नसकिरहेको उनकाे भनाइ छ ।
सरकारले शुरु गरेको केही कानूनी एवं नीतिगत सुधार महत्वपूर्ण रहेको पनि उनले बताए ।