News 24 Television
साम्बाको कप्तानीले चर्कियो हंगामा, एन्फा भर्सेस प्रशिक्षक प्याट्रिक भिडन्त !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच द्वन्द्व चर्किएको छ । प्रशिक्षकले एन्फाभित्रको राजनीति र खेलाडीको व्यवस्थापनमा हस्तक्षेप बढिरहेको आरोप लगाएपछि एन्फाले पत्रकार सम्मेलन गर्दै प्रशिक्षकमाथि विभिन्न आरोप लगाएको छ । 

नेपाल फुटबलको महिला राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फाको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउदै एक अन्तरवार्ता दिएपछि एन्फा र प्रशिक्षकबीचको विवाद सतहमा आएको छ । 

एन्फाले खेलाडीलाई न्यूनतम सुविधा र पूर्वाधारसमेत नदिएको आरोप लगाउँदै प्रशिक्षक वाइल्डले आफू टिमबाट अलग हुने संकेत गरेका छन् । 

यसपछि प्रमुख प्रशिक्षकको विषय के हुन्छ भन्ने चासो बढेको छ । यही परिस्थितिमा एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै प्रशिक्षकमाथि विभिन्न आरोप लगाएको छ । फुटबल टिमको कप्तान बदल्ने विषय समेत वाइल्डले अन्तिम समयसम्म पनि लुकाएको गम्भीर आरोप एन्फाले लगाइएको छ । 

प्रमुख प्रशिक्षक वाइल्डले नेपाल नफर्किने संकेत गरिरहेको बेला एन्फाले पत्रकार सम्मेलन गरि उनीमाथि आरोप नै आरोप थोपरेको देखिन्छ ।

वाइल्ड गत जेठ २२ गते नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एन्फामाथि गम्भीर प्रश्न उठाएका वाइल्डले अब के गर्लान भन्ने चासो बने बढेको छ । एन्फासंग असन्तुष्ट बनेका वाइल्ड उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम नै गएको बताइएको छ । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसंग पराजित नेपाल एसियन कपबाटै बाहिरिनुपरेपछि विभिन्न चर्चा र बहस भइरहेको छ । 

यस प्रतियोगिताका दौडान कप्तान एन्जिला तुम्बापो सुब्बा तीनै खेलमा बेन्चमै सीमित बनेकी थिइन् । यो विवादमा एन्फाले पनि प्रतिकार गरेपछि मुख्य प्रशिक्षक नेपाल फर्किने सम्भावना थप क्षीण बनेको हो । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update