
काठमाडौं । रैथाने अन्नलाई आधुनिक स्वाद र पोषणसँग जोड्दै नेपाली महिलाको नेतृत्वमा स्थापित ‘कोदाली भेन्चर्स’ले स्वदेशदेखि विदेशसम्मको बजारमा आफ्ना रसायनरहित उत्पादनमार्फत पृथक पहिचान बनाएको छ । जौको गन्ध, फापरको स्वाद, र गुडको मिठासलाई समेट्दै विषादीरहित सुपरफूडमार्फत हलचल मचाइरहेको छ ।
विषादीरहित पनि तयारी वा अन्न केहि हुन्छ र ? यही प्रश्नले शुरु भएको सपना आज ‘कोदाली भेन्चर्स’को नाममा नेपालकै एक अभियान र सफल स्टार्टअपको रूप लिएको छ ।
नेपाली महिलाहरूको समूहले डेढ वर्ष लामो अनुसन्धानपश्चात सुरु गरेको यो उद्योगले रैथाने अन्नहरू कोदो, फापर, कागुनो, जौं, सिस्नो जस्ता पोषणयुक्त तर ओझेलमा परेका खाद्यान्नलाई आधुनिक स्वाद र शैलीमा रूपान्तरण गर्दै स्थानीय र अन्तर्राष्ट्रिय बजारमा आफूलाई सफलतापूर्वक स्थापित गरेको छ ।
कोदाली भेन्चर्सले रसायनरहित पूर्ण रूपमा प्राकृतिक विधिमा आधारित खाद्य सामग्री उत्पादन गर्दै आएको छ । नेपालमै मात्र नभई अमेरिका, बेलायत र अष्ट्रेलियासम्म आफ्ना उत्पादन निर्यात गर्न सफल यो कम्पनीले स्वास्थ्य र पोषणप्रतिको चिन्तालाई ध्यानमा राख्दै रैथाने अन्नहरूलाई ‘सुपरफूड’को रूपमा प्रस्तुत गरेको छ ।
सुपरफूडमा रैथाने अन्नको जादू
भेन्चसले कोदाली भिगन, माई चोइस, चोखो पिठो, प्यानकेक, सिस्नो र फवर फेल्क्स उत्पादन गर्दै आएको छ । ‘माई चोइस’ नामक पेय पदार्थ टुसा उमारेको कोदो, फापर, सूर्यमुखी, गुड र कोकाबाट बनेको छ ।
यसको लक्ष्य बालबालिकालाई पौष्टिक तथा स्वादिलो विकल्प प्रदान गर्नु हो । ‘प्यानकेक’ जौ, फापर, कागुनो, आलस र गुडबाट बनेको एक नविनतम उत्पादन हो ।
ओमेगा–३ जस्ता पोषक तत्त्वले भरिपूर्ण यो परिकारले मुटु र मस्तिष्क स्वास्थ्यमा सहयोग पु¥याउँछ । कोदालीका प्रमुख उत्पादनहरूमध्ये ‘कोदाली भिगन’ विशेषष्गरी टुसा उमारेको फापरबाट तयार पारिएको छ ।
नेपालमा महिलाको नेतृत्वमा व्यवसाय सञ्चालन गर्नु चुनौतीपूर्ण छ । लगानी जुटाउने कठिनाइ, प्रणालीगत अवरोध र सामाजिक अपेक्षाबीच कोदाली भेन्चर्सले २० जनालाई स्थायी रोजगारी पनि दिइरहेको छ ।
स्थानीय पालिकासँगको सहकार्य र किसानहरूसँगको प्रत्यक्ष सम्बन्धले उत्पादनको स्थायित्व मात्र होइन स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । कोदाली भेन्चर्सको उद्देश्य नाफामुखी व्यापारमा मात्र सीमित छैन । यो स्वस्थ जीवनशैली अपनाउने र नेपाली खाद्यसंस्कृति जगेर्ना गर्ने अभियान हो ।
कम्पनीले गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउनुका साथै नेपाली परम्परा, स्वाद र ज्ञानलाई समेट्दै नवप्रवर्तनशील उद्योगको प्रतिमूर्ति बनेको छ । कागेश्वरी मनोहरा–९ मा रहको कोदाली भेन्चर्सका मूल्य पनि सुपथ रहेकाले सबैको रोजाईमा पर्नुका साथै बजार पनि आक्रमक रुपमा विस्तार गरिरहेको छ ।
कोदाली भेन्चर्सको सफलताले पना साकार गर्न विदेश जानु मात्रै विकल्प होइन भन्ने गहिरो सन्देश दिएको छ । विशेषगरी विदेश जाने सोचमा रहेका वा उद्यमशिलतातर्फ लम्किन खोजिरहेका युवाहरूका लागि कोदालीको यात्रा एउटा उज्यालो मार्गदर्शन बनेको छ । देशमै बसेर रैथाने बाली, प्राकृतिक स्रोत र स्थानीय सीपहरूको सदुपयोग गर्दै समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने उदाहरण हो, कोदाली भेन्चर्स ।