
काठमाडौं । करिब चार दशकपछि ल्याबोरेटरी सेकेन्डरी स्कुल फेरि एकपटक पुराना सम्झनाले जीवित बन्यो । गुरु पूर्णिमाको अवसर पारेर सन् २०३४ देखि २०४३ सम्म एसएलसी उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरू आफ्ना शिक्षकहरूलाई सम्मान प्रकट गर्न विद्यालय फर्किए ।
यो क्षणले जीवनमा शिक्षाको महत्व र जीवनपथ फराकिलो बनाइदिने गुरुको महत्वलाई झल्काइदिएको छ । समय बित्छ, जीवन अगाडि बढ्छ । मान्छेहरू भिन्न–भिन्न पेशा र भूमिकामा लाग्छन् । देश–विदेशतिर फैलिन्छन् । तर केही सम्बन्ध यस्ता हुन्छन्, जुन जीवनभरको हृदयको कुनामा गहिरिएर बस्छन् । जस्तै, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध ।
यस्तै अमिट सम्बन्धलाई जीवन्त बनाउने प्रयासस्वरूप कीर्तिपुरमा रहेको ल्याबोरेटरी सेकेन्डरी स्कुलका पुराना विद्यार्थीहरूले गुरु पूर्णिमाको दिन आफ्ना गुरुहरूलाई सम्मान गर्दै भावनात्मक भेटघाटको आयोजन गरे ।
वि.सं. २०३४ देखि २०४३ सालसम्म एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरू विद्यालय फर्किए । स्कुलको पुरानो गेटभित्र पस्नेबित्तिकै धेरैको आँखामा चमक झल्कियो । उनीहरूले हिँडेका कक्षाका पाईलाहरू, सानो कदमा किताब बोक्दै हिँड्ने दिनहरू, अनि अनुशासन सिकाउने ती गम्भीर तर ममतामयी आवाजहरूको स्मृतिको पर्दा खुल्दै गयो ।
कार्यक्रममा सहभागीहरूका लागि त्यो दिन केवल भेटघाटको मौका थिएन । त्यो त थोरै समयका लागि भए पनि आफूलाई फेरि विद्यार्थीको रूपमा महसुस गर्ने अवसर थियो ।
उनीहरूले परीक्षा पूर्वको चाप, खेलकुद दिवसका रमाइला क्षण, कक्षामा गरेको बालसुलभ गल्ती र ती गल्तीमा सुधारको लागि शिक्षकले देखाएको धैर्य सम्झिए ।
कोही शिक्षकले हात समातेर लेख्न सिकाएका थिए । कोहीले अनुशासनको मर्म बुझाएका थिए । शिक्षकहरूले दिएका ती पाठहरू केवल कक्षाकोठासम्म सीमित थिएनन् ।
ती पाठहरूले इन्जिनियर, चिकित्सक, ब्यवसायी, समाजसेवी र लेखकलगायत सम्मानित पेशा निर्माण गरेका छन् । जीवनमा शिक्षाको महत्व र जीवन पथ फराकिलो बनाइदिने गुरुको महत्वलाई यसले पनि झल्काइदिएको छ । त्यसैले पनि पूर्वविद्यार्थीहरूले शिक्षकहरूमाथि फूल, माला, ताम्रपत्र र सम्मानपत्रसहित सम्मान प्रकट गरे । तर त्यो भन्दा गहिरो थियो शब्दमा नपोखिएको कृतज्ञता ।
शिक्षकको नजरमा देखिएको गर्व
शिक्षकहरूको लागि पनि गुरु पूर्णिमा भावनाले भरिएको थियो । ती शिक्षकहरू जसले चार दशकपछि स्कुल ड्रेसमा देखेका नानीहरूलाई समाजका सम्मानित व्यक्तित्वको रूपमा देख्दा गर्व, माया र आश्चर्य मिसिएको अनुहार लिएर बोलिरहेका थिए । शिक्षक बनेको सार्थकता यस्तै पलमा महसुस हुने शिक्षकहरूको भनाई छ ।
यो कार्यक्रममा सहभागीहरूले शिक्षकको योगदानलाई सम्झिए, कृतज्ञता प्रकट गरे र आफ्नो सफलता पछाडि शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको स्वीकार गरे । यस्ता कार्यक्रममा शिक्षक–विद्यार्थी सम्बन्ध अझ बलियो बन्ने र भावनात्मक मूल्य पुनः पुष्टि हुने देखिन्छ ।