
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा रहेको सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरपालिकाको प्रशासन शाखामा सामुहिक राजिनामा बुझाएका छन् ।
गौशाला नगरपालिकाले विद्यालय संचालनको शीर्षकमा रहेको रकम निकासा नगरिदीदा विद्यालयहरुको गतिविधि संचालन गर्न समस्या भएकोले साउन १ गते देखी लागुहुने गरि प्रधानध्यापकहरुले सामुहिक राजीनामा पत्र बुझाएको जनाईएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को अन्त समम् दिवाखाजा, पाठ्यपुस्तक, नगर अनुदान, ससर्त अनुदान, पूँजीगत रकम लगायत विद्यालयका लागि रहेको अन्य शिर्षकहरुको केहि रकम निकासा गरे पनि अति न्यून निकासी गरेकोले विद्यालय संचालन प्रभावित भएको उनीहरुको भनाई छ ।
गौशाला नगरपालिका लाई पटक-पटक विद्यालय रकम निकासा गरीदन भनेर ताकेता गर्दा पनि नगरपालिकाले आलटाल गर्दै आएकोले सामुदायिक विद्यालयका प्रधानध्यापकहरुको बैठक द्वारा सामुहिक राजिनामा दिने निर्णय गरेको त्रिभुवन मा.वि. का प्रधानध्यापक शुभकरण यादवले जानकारी दिएका छन् ।
मंगलवार बिहान प्रधानध्यापक शुभकरण यादवको अध्यक्षतामा बसेको बैठकको निर्णयमा ३२ जना प्रधानध्यापक र शिक्षकहरुले हस्ताक्षर गरेका थिए ।
यता गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महोतेले कागजी प्रक्रिया पूरा भएको र काम सम्पन्न भएको रकमहरु निकासी भईसकेको बताएका छन् । प्रधानाध्यापक नियुक्ति विद्यालय व्यवस्थापन समितिले गरेको हो ।
'प्रधानध्यापकले राजिनामा व्यवस्थापन समितिलाई बुझाउनु पर्ने हो प्रधानध्यापक नियुक्ति समितिले गरेको हो, नगरपालिकाले होईन । रह्यो कुरा रकम निकासी वा भुक्तानिको त्यों हामिले नियम अनुसार अनुगमन समेत गरेर निकासा गरिसकेका छौँ,' नगरप्रमुख महोतोले भने । उनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हाजिरी सामुदायिक विद्यालय गरेर शिक्षकहरुले बढ़ी रकम निकाल्न खोजेको अनुगमनबाट देखिएको समेत आरोप लगाएका छन् ।
यता गौशाला नगरपालिकामा रहेका सामुदायिक विद्यालयले भर्खरै सम्पन्न माध्यमिक परिक्षा एसईई मा पच्चास प्रतिशत भन्दा बढ़ी नतिजा ल्याउन नसकेको र त्यसलाई दबाउन शिक्षकहरुले उक्त कदम चालेको स्थानियको आरोप छ । प्रधानध्यापकहरुले राजिनामा पत्र बुझाए सँगै चरणबद्ध आन्दोलनको घोषणाले नयाँ शैक्षिक सत्र समेत प्रभावित हुनसक्ने भन्दै बारे स्थानियले चिन्ता व्यक्त गरेका छन ।