News 24 Television
दशैंअघि टियु रंगशाला सम्पन्न नहुने, दैनिक २ लाख हाराहारीको हर्जाना

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणको विषयलाई लिएर संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका थिए । लगत्तै ओलीले मैदान हेर्न कीर्तिपुर जानु भन्दै सामाजिक सञ्जालबाट ब्यङग्य गरिदिए ।

खासगरी प्रधानमन्त्री ओलीले टीयू मैदान निर्माणका लागि समयावधि नै तोकेको थिए । तर समयमा न त प्यारापिट निर्माण भयो न त फ्लडलाइट नै । त्यसपछि थपिएको समयमा पनि निर्माण पूरा भएको छैन । के के काम भए, के कति बाँकी छन् ? के भन्छ निर्माण कम्पनी ? 

निर्माणाधिन कीर्तिपुरस्थित टियु रंगशाला असार ३० गते भित्रै सम्पन्न गरिसक्नु पर्ने हो । रंगशाला निमार्ण कार्य अझै सम्पन्न हुन सकेको छैन । यतिबेला झर्र् झर्र् वर्षा भइरहेको छ । तर पनि मैदानमा निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । 

यतिबेला मैदानमा प्याराफिट निर्माण कार्य धमाधम भइरहेको छ । १० हजार सिट क्षमताको प्याराफिटमा पुर्वतर्फ ३ हजार कुर्ची हुनेछन् भने पश्चिमतर्फ ७ हजार कुर्चि रहनेछन् ।  

अहिलेसम्म पुर्वतर्फको भागमा प्याराफिट जोड्ने कार्य सकिने चरणमा छ । पश्चिमतर्फको भागमा समेत उहि गतिमा काम भइरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार गत महिना बैशाखमा निर्माण सम्पन्न भइसक्नु पर्ने हो । तर तोकिएको समयमा निर्माण सम्पन्न भएन । त्यसपछि प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई बालुवाटार बोलाएर असार मसान्त भित्र काम सक्न निर्देशन दिए । 

प्रधानमन्त्रीले दिएको दोस्रो समयसिमा पनि घर्कियो । काम सम्पन्न नभएपछि यतिबेला निर्माण कम्पनी पनि तनावमा छ । शहरी विकास मन्त्रालयले प्यारापिट र फ्लडलाइट काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइ काम भइरहेको बताइएको छ । सहमति अनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्छ । 

जसअनुसार दैनिक २ लाख हाराहारीको हर्जाना देखिन्छ । यसअघि मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए । प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो । 

अर्कातर्फ फ्लडलाइट निर्माण कार्य निकै सुस्त गतिमा भइरहेको छ । निर्माणाधिन मैदानमा ६ वटा फ्लडलाइट राख्ने योजना छ । त्यहिअनुसार बेस निर्माण गरिसकेको छ । अहिलेसम्म मैदानमा तीन वटा फ्लडलाइटका सामान झारिएको छ । निर्माण कम्पनी भने नेपाल बाहिर म्यानुफ्याक्चरिङ हुने हुनाले समस्या भएको बताउँछन् । 

भारतबाट समान मगाएर काम गर्नुपर्ने हुनाले ढिलाई भइरहेको दाबी निर्माण कम्पनी विशन–इश्वरी जोइन्ट भेन्चरका कर्मचारीको छ । अरु २, ३ महिनाको समय चाहिने उनीहरुको भनाई छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update