
काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टिमका स्टाइकर सावित्रा भण्डारी साम्बा’ नेपाली महिला फुटबलको गौरव हुन् । लमजुङको पामचोकजस्तो दुर्गम गाउँमा सामान्य परिवेशमा हुर्केकी साम्बा नेपाल र दशिक्ष एसियामा मात्रै नभइ युरोपमा समेत परिचित छन् । उनी हालै न्युजिल्याण्डको प्रतिष्ठित क्लब वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्धित भएकी छन् । यसले नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने सम्भावना छ ।
लमजुङको पामचोकजस्तो दुर्गम गाउँमा सामान्य परिवेशमा हुर्केकी सावित्रा भण्डारी आज नेपाली महिला फुटबलको मात्र होइन, दशिक्ष एसियाली र युरोपेली फुटबलको समेत उज्यालो तारा बनेकी छन् ।
उनी जहाँ गइन्, त्यहाँ नेपालीपनको सुगन्धसँगै नेपाली महिलाहरू पनि फुटबलमा सक्षम छन् भन्ने कुराको प्रमाण दिइन् । खाली खुट्टाबाट सुरु भएको उनको फुटबल यात्रा लोभलाग्दो मात्र होइन, प्रेरणादायी पनि छ । उनी नामभन्दा पनि उपनामले बढी चर्चामा छिन्, त्यो हो ‘साम्बा’, नाम र थरको कम्बिनेसन् ।
उनको सेलिब्रेसन शैली र ‘ब्वाइज कट’ हेयरस्टाइलले छुट्टै पहिचान बनाएको छ । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबाट प्रभावित भएकी साम्बाले गोल सेलिब्रेसन पनि रोनाल्डोकै शैलीमा गर्ने गरेकी छन् । जसका कारण उनलाई कतिपयले ‘लेडी रोनाल्डो’ पनि भन्ने गरेका छन् । बचपनमा मोजामा कपडा र कागज हालेर फुटबल खेल्ने बच्ची आज नेपाली महिला फुटबलको पहिचान बनिसकेकी छन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले समेत ‘खाली खुट्टादेखि चमत्कारिक खेलाडीसम्मको यात्रा’ शीर्षकमा उनको फिचर स्टोरी प्रकाशीत गरिसकेको छ । सावित्राको यात्रा प्रेरणादायी भएपनि नेपाली महिला फुटबलले भने अझैसम्म १३ वटा फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन । अन्तर्राष्ट्रिय एक्सपोजर, घरेलु लिगको कमी र खेल क्षेत्रमा देखिएको राजनीति नेपाली फुटबलको विकासमा बाधक बनेका छन् ।
फुटबलमा डेब्युदेखि निरन्तर यात्रा
लमजुङको पामचोकबाट फुटबलको यात्रा सुरु गरेकी साम्बाले छोटो समयमै नेपाली फुटबलमा आफूलाई अब्बल खेलाडीको रूपमा स्थापित गरिन् । राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको नाममा उनकै नाम छ ।
सन् २०१४ को साफ च्याम्पियनसिपमा १७ वर्षको उमेरमा भुटानविरुद्ध ८६औं मिनेटमा मैदान प्रवेश गर्दै सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरिन् । मैदान प्रवेश गरेको दुई मिनेटमै पहिलो गोल गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । २०७१ साउनयता सशस्त्र प्रहरीको टिम र राष्ट्रिय टिममा गोल मेसिन सावित भइन् । उनले भारतको महिला लिगमा जुन टिमबाट खेलिन, त्यसैलाई च्याम्पियन बनाइन् । उनले पहिलो पटक सेथुलाई उपाधि दिलाइन् दोस्रो पटक गोकुलम एफसीलाई ।
भारतमा खेल्नुअघि माल्दिभ्समा फुटसलको समेत अनुभव लिएकी थिइन् । दक्षिण एसियाली फुटबलमा गोल मेसिनको छवि बनाएकै कारण उनी युरोपमा फुटबल खेल्नु पुगिन् । उनी हालै न्युजिल्याण्डको प्रतिष्ठित क्लब वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्धित भएकी छन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । त्यसअघि इजरायलको हापोएल राना’नाबाट पनि खेलेकी थिइन् ।
कप्तानीको जिम्मेवारी र विवाद
हालै सावित्राले नेपाली महिला फुटबल टिमको कप्तानी सम्हालेकी छन् । उज्बेकिस्तानमा भएको एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलबाट उनले कप्तानी थालेकी हुन् ।
यो खेल नेपाली महिला टिमको एक सय औं अन्तर्राष्ट्रिय खेल पनि थियो, जसले उनलाई नेपालको ११औं कप्तानको रूपमा दर्ज गरायो । तर, प्रशिक्षक प्याट्रिक डी वाइल्डको एकतर्फी निर्णयले कप्तान अञ्जिला तुम्बापो सुब्बालाई बाहिर राखेर साम्बालाई कप्तान बनाएको विषय विवादास्पद बन्यो । उनले पनि कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरेकी थिइन् ।
कसलाई कप्तान बनाउने, कसलाई मैदानमा उतार्ने र कसलाई बेच्नमा राख्ने प्रशिक्षकको स्टाटीजीको कुरा हो । तर, नेपाली समाज र भावनालाई नुबुझी प्रशिक्षक प्याट्रिक डी वाइल्डले एकतर्फी निर्णय लिँदै नियमित कप्तान अन्जिलालाई कप्तान र गोलकिपर दुवै जिम्मवारीबाट आउट गर्दा नेपाली फुटबल समर्थक नै विभाजित हुन पुग्यो । दुई ‘वेस्ट फ्रेण्ड’ साम्बा र अञ्जिलाका फ्यानहरू नै सामाजिक सञ्जालमा भिडिरहेका छन् । प्रशिक्षक प्याट्रिक डी वाइल्डबाट अञ्जानमा नेपाली फुटबललाई विभाजन गर्ने काम भएको छ । साथै, अञ्जिलाप्रति उनले देखाएको व्यावहारको पनि आलोचना भइरहेको छ ।
प्रेरणाको स्रोत साम्बा
सावित्राको यात्रा केवल खेलको सीमामा मात्र सिमित छैन । उनले नेपाली समाजमा महिलाहरूका लागि नयाँ बाटो खोलेकी छन् । उनले सामाजिक र पारिवारिक बन्धन तोड्दै स्वतन्त्र र हिम्मती स्वभावलाई खेलकुदमा रूपान्तरण गरिन् । ‘साम्बा’ नेपाली महिला फुटबलको गौरव हुन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा ‘साम्बा चोक’ नामकरण गर्दै उनको सम्मानमा स्तम्भसमेत बनाइएको छ ।
उनको गाउँबाट युरोपसम्मको यात्रा, कप्तानीको जिम्मेवारी र अन्तर्राष्ट्रिय लिगमा गरेको प्रदर्शनले उनलाई एक प्रेरणादायी व्यक्तित्व बनाएको छ । उनको मेहनत, लगन र प्रतिभाले नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने सम्भावना बोकेको छ । न्यूजिल्याण्डको नयाँ यात्रासँगै उनले नेपालको नाम विश्व फुटबलमा चम्काउने अपेक्षा छ ।