
काठमाडौं । नेपाली पब्जी टिम ‘होरा ई–स्पोट्र्स’ साउदी अरबमा जारी ई–स्पोट्र्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपको ग्रान्ड फाइनलमा प्रवेश गरेको छ ।
सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । २५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो ।
समूह चरणका शीर्ष आठ टिम सिँधै ग्रान्ड फाइनलमा छनोट भएका थिए भने ९ देखि २४औं स्थानमा रहेका १६ टिमले ‘सर्भाइभल स्टेज’मा दोस्रो मौका पाएका थिए । सर्भाइभल स्टेजको विजेता बन्दै होरा ई–स्पोट्र्स ग्रान्ड फाइनलमा पुगेको हो ।
होरा ई–स्पोट्र्सले १२ खेलमा दुई चिकन डिनरसहित ७२ एल्मिनेसन र ३६ पेल्स पोइन्ट गरी एक सय आठ अंक जोड्यो । सर्भाइभल स्टेजको पहिलो दिन ४६ अंक जोडेको होरा ई–स्पोट्र्सले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै ६२ अंक जोडेको थियो । सर्भाइभ र समूह चरण गरी होरा ई स्पोट्र्सले करिब पौने एक करोड रुपैयाँ पक्का गरिसकेको छ ।
अब होराले विश्वका उत्कृष्ट १६ टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसमा समूह चरणबाट छानिएका ८ र सर्भाइभल स्टेजबाट छानिएका ८ टिम सहभागी हुनेछन् । पब्जी विश्वकपको ग्रान्ड फाइनल शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुनेछ ।
त्यही प्रतिस्पर्धामा विश्व विजेताको टुङ्गो लाग्नेछ । विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ । ग्रान्ड फाइनलको लागि होरा ई–स्पोट्र्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।