
रौतहट । लामो समयको खडेरी पश्चात रौतहट लगायत मधेस प्रदेशका जिल्लाहरुमा वर्षात हुँदा किसानहरुलाई ठुलो राहत भएको छ । समयमा वर्षात् नहुँदा धेरै किसानहरुले धान रोप्न पाएका थिएनन् । श्रावणको मध्यसम्म पनि पानी नपरेपछि किसानहरु यस वर्ष धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा थिए भने जेनतेन गरेर धान रोपेका किसानहरुको खेत पानी नहुँदा सुख्खा भएर धाँजा फाट्न थालिसकेका थिए । तर केही दिनदेखिको लगातारको वर्षात्ले किसानहरुमा हर्षको माहोल आएको छ । यसरीनै केही समयसम्म वर्षात भइरहने हो भने खडेरीको संकट टरेर जाने किसानहरुको विश्वास छ ।
अन्नको भण्डार भनेर चिनिने तराई मधेसमा सिचाइको व्यवस्था भएका केही क्षेत्रहरुमा धान रोपिएपनि धेरै क्षेत्रफल बाँझै रहेका थिए । रोपाई हुन नसक्दा बिउ मर्न थालेका थिए भने रोपेका धान पनि पहेंलो हुँदै गइरहेका थिए । पर्याप्त पानी नहुँदा रोपिएका धान खेतहरुमा झारहरु पलाउन थालेका थिए । पैसा तिरेर पम्पसेट, डिप बोरिङ लगायतकाबाट पानी पटाउनुपर्दा किसानहरुको लगानी बढिरहेको थियो । तर केही दिनदेखिको लगातारको वर्षाले किसानहरुले धेरै समस्या समाधान भएकाले स्थानीय विमल भट्टराई बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ । मंगलबारसम्म मधेस प्रदेशमा धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने सम्भावना रहेका छ । यसले गर्दा धान रोप्न बाँकी किसानहरुले धान रोप्न सहज हुने विश्वास लिइएको छ । तर पानी परेर रोपाई गरेपनि समयमा मलखाद नपाएको किसान गोपाल सहनीले बताए ।
मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार मधेस प्रदेशका ८ जिल्लामा कुल ५ लाख ४२ हजार ५८०.७८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ । श्रावण १६ गतेसम्म २ लाख १३ हजार ४३८.९५ हेक्टर जमिनमा धान रोपाई सम्पन्न भइसकेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मधेस प्रदेशका ८ जिल्लामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ८५ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ भने सबैभन्दा कम महोत्तरी जिल्लामा ३९.७३ प्रतिशत मात्रै रोपाइँ भएको छ । यसैगरी बारा जिल्लामा ८३ प्रतिशत, रौतहट जिल्लामा ७३ प्रतिशत, सर्लाही जिल्लामा ६५ प्रतिशत, सिराहा जिल्लामा ५० प्रतिशत, धनुषा जिल्लामा ४० प्रतिशत र सप्तरी जिल्लामा ४० प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । समग्रमा मधेस प्रदेशमा ५७ दशलव २७ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । यो वर्षासँगै रोपाईको क्रम बढिरहेकाले अब चाँडै नै रोपाइ सकिने कार्यालयको अनुमान छ । प्रत्येक वर्ष किसानहरुले धान रोप्ने बेलादेखि फल्ने बेलासम्म समस्या भोग्नु परिरहनु परेकाले यसको दिर्घकालिन समाधानको लागि तीनै तहको सरकारले योजनाहरु ल्याउनुपर्ने नेपाली कांग्रेस, मधेश प्रदेश प्रचार विमाग प्रमुख नितेश कुमार गुप्ताको सुझाव छ ।
अझैपनि मधेस प्रदेशको धेरै खेतीयोग्य जमिनमा खेती गर्न किसानहरु आकासे पानीको भरमा छन् । तर पछिल्ला केही दशक यता पानी पर्ने मात्रा कम कम हुँदै गइरहेको किसानहरुको अनुभव छ । नदि तथा भूमिगत सिचाइको सुविधा पनि पर्याप्त नहुँदा धानबाली मात्र होइन अन्य बालीहरुको पनि उब्जनी घट्दो क्रममा र लगानी बढ्दो क्रममा छ । यसले गर्दा किसानहरु कृषि पेसा नै छाडेर पलायन हुने क्रम पनि बढिरहेको छ । कृषि प्रधान देशमा किसानको हितमा राज्यको निति, कार्यक्रम र वजेट हुनुपर्नेमा त्यसो नहुँदा किसान सधैं पिडित हुनुपर्ने हो ? किसानको प्रश्न छ राज्यसँग ।