News 24 Television
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !

काठमाडौं । मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । 

यि हुन्, मकवानपुरको पदमपोखरीका कृषक फेन्चु लामा । फेन्चु लामाले १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । उनीमात्रै होइन, मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । 

कृषक फेन्चु लामाको कुरा गर्नुपर्दा उनले रेड साइन र सी भेराइटी अमेरिकन ब्युटि र सेतो प्रजाती गरी चार जातका ड्रागन फ्रुट लगाएका छन् । यसको आयु झन्डै १५ वर्षसम्म रहने गर्दछ । ड्रागन फ्रुटको मुख्य माग वैशाखदेखि कात्तिक महिनासम्म रहने भएपनि वर्षभर नै उत्पादन सम्भव हुने भएकाले बजार सधैँजसो कायम रहने लामाको भनाई छ । 

लामाले आफ्नो फार्ममा दुई विधि प्रयोग गरेका छन् । टेलिसिस्टम र पोलिङ सिस्टमको प्रयोग उनले गरेका छन् । टेलिसिस्टममा बढी स्याहार–सुसार आवश्यक पर्छ भने पोलिङ प्रणाली तुलनात्मक रूपमा सजिलो र व्यवहारिक मानिन्छ । बोटहरू पोल टु पोल ३ मिटरको दूरीमा र ड्याङ ४ मिटर फराकिलो बनाएर रोप्नुपर्ने लामाले बताए । 

उक्त खेतीबाट उत्पादन हुने ड्रागन फ्रुट साइजअनुसार फरक मूल्यमा विक्री हुँदै आएको छ । ठूलो साइजको प्रतिकिलो ३ सय ५० रुपैयाँ र सानो साइजको ३ सय रुपैयाँमा विक्री हुने गरेको लामा बताउछन् । एउटा बिरुवाबाट वार्षिक औसत २ किलोसम्म फल फल्ने गर्दछ । जुन हरेक वर्ष क्रमशः बढ्दै जान्छ । हाल एउटा पोलमा बिरुवा उत्पादन गर्न करिव २५ सय रुपैयाँ खर्च लाग्ने गरेको र यसअघि एक पोलमा बिरुवा राख्न करिव ४ हजार रुपैयाँ लागत लाग्थ्यो । तर अहिले १०० रुपैयाँमै बिरुवा पाइने भएकाले लागत घटेको लामाको भनाइ छ । हाल १ किलो ड्रागन फ्रुट उत्पादनमा करिव २५० रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ ।

बैंकबाट ऋण लिएर किस्ताबन्दीमा तिर्दै आएका लामा वार्षिक झन्डै ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । सम्पूर्ण खर्च कटाएर र ऋण किस्ता तिरेपछि वार्षिक ५ देखि १० लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउछन् । लामाले आफ्नो फार्मलाई अनुसन्धान केन्द्रका रूपमा पनि उपयोग गरिरहेका छन् । 

तर, ड्रागन फ्रुट खेतीमा केही चुनौतीहरू पनि छन् । बढी वर्षा भएमा फंगल डिजिज (ढुसी रोग) देखिने, कमिला लाग्ने र बिरुवा कुहिने समस्या देखिने भएकाले विशेष सावधानी आवश्यक हुने देखिन्छ । 

स्थानीय सरकार प्रोत्साहनमा, मकवानपुरमै ड्रागन कृषक एक सय 

स्थानीय सरकार विशेषतः हेटौंडा उपमहानगरपालिकाले लामालाई सिंचाईको लागि पानीको व्यवस्था, टनेल निर्माण तथा पांगारिक मलमा सहयोग गरेको छ। साथै, कृषि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । हाल मकवानपुर जिल्लामा झन्डै एक सय जना कृषक ड्रागन फ्रुट खेतीमा संलग्न छन् ।

राजधानी काठमाडौं लगायत अन्य शहरहरूमा यसको माग उच्च भएकोले किसानहरूमा अझ उत्साह बढेको देखिन्छ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाहरूका लागि मकवानका कृषक प्रेरणादायी उदाहरण बनेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update