
वीरगञ्ज, पर्सा । वीरगञ्जमा शक्ति र समृद्धिका प्रतिकको रुपमा मानिने भीमसेन देवताको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
आईतबार भीमसेन जात्राको दिन वीरगञ्जको विर्ता मन्दिरमा मूर्तिको प्रणा प्रतिष्ठासहित क्षमा पूजा गरिएको हो । सो अवसरमा नेवार समुदायका खड्गी समाजका अध्यक्ष जुलुम खड्गीले पूजामा प्रमुख भूमिका निर्वाह गरेका थिए ।
नेवार समुदायको पूजाहरु तान्त्रिक विधिको आधारमा हुने गर्छ । त्यसकारण काठमाण्डौँबाट आएका गुरु प्रेम कुमार श्रेष्ठले तान्त्रिक विधिबाट मूर्तिको प्राण प्रतिष्ठा गराएको भिमसेन जात्रा समितिले जनाएको छ । यस्तै, पूजाका लागी ४ वटा बोकाको बलि दिएको र प्रसाद स्वरुप समय बजि वितरण गरिएको थियो ।
वर्षाैंदेखि मनाउँदै आएको भीमसेन जात्रा अझ बढी भव्यताका साथ मनाउने उदेश्यले यसवर्ष वीरगञ्जमा भीमसेन देवताको नयाँ मुर्ति र खट (रथ) निर्माण गरेको नेवा देय् दबू वीरगञ्ज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिए ।
उनले सिमावर्ती सहरमा समेत नेवा समुदायले आफ्नो संस्कृति र परम्पराको जगेर्ण गरेकोमा प्रभावित भई काठमाण्डौँका नेवा समुदायका वरिष्ठ मूर्तिका रवि शाक्यले करिब १८ किलोको पित्तलको भीमसेन देवताको मूर्ति वरिगञ्जलाई हस्तान्तरण गरेको बताए । यस्तै १ सय ८० किलोको नयाँ खट निर्माणका लागि करिब २ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
यसैबिच आज साँझ वीरगञ्जमा भव्यताका साथ भिमसेन जात्रा मनाउने तयारी गरिदै छ । आज साँझ नयाँ खटको पुजा गरि करिब ६ बजे जात्रा निकाल्न लागिएको खड्गीले बताए ।
उनले जात्रामा नेवारसंगै मधेशी समुदायको समेत सहभागिताले वीरगञ्जमा अनेकतामा एकताको सन्देश प्रभाव भएको बताए ।
हिजो कृष्ण जन्माष्ठमीका दिन लाखे नाँचको प्रदशन गरिएको थियो । सो अवसरमा नेवार समुदायको बाक्लो सहभागिता रहेको थियो ।