
काठमाडौँ । केही महिना अघिसम्म दिनदिनै र छिनछिनमै सरकार ढलिहाल्छ भन्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय भने शान्त छन् । सरकार ढल्ने भाष्यलाई उनले लामो समयसम्म निरन्तरता दिँदै आएका थिए । तर, घटनाक्रम भने उनको अपेक्षा विपरीत अघि बढेको छ ।
अघिल्लो असारमा बनेको सरकारबारे प्रचण्डले दशैंसम्म मात्रै टिक्ने अभिव्यक्ति दिएका थिए । दशैं कटे पनि सरकार ढलेन । त्यसपछि पनि सार्वजनिक मञ्चदेखि आन्तरिक बैठकसम्म उनले सरकार ढल्ने भविष्यवाणी दोहोर्याइरहे । गत वैशाख ११ गते संसदीय दलको बैठकमा त उनले नयाँ समीकरणको आधार नै तय भइसकेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि थप कुरा हुने संकेतसमेत दिएका थिए ।
तर, देउवाले फर्केपछि स्पष्ट पारिदिए– “समीकरणमा कुनै समस्या छैन, यो टिक्छ ।” प्रचण्डले सूचना पाएझैँ प्रस्तुत गरेका अभिव्यक्ति वास्तविकतासँग नमिल्दा उनको बोली हचुवा हुँदै गयो । त्यसपछि प्रचण्डले फेरि भाष्य बदल्दै भने, “यथास्थितिवादी शक्तिसँग फेरि सरकारमा जाने हाम्रो रुचि छैन । हामी जनतासँगै ठीक छौँ ।”
माओवादीभित्रै मतभिन्नता
प्रचण्डले बारम्बार दिएको सरकार ढल्ने अभिव्यक्ति पार्टीभित्रै पनि विवादको विषय बन्यो । महासचिव देव गुरुङले “सरकार फेर्ने विषयमा कुनै छलफल भएको छैन” भनेर स्पष्ट पारिदिए । उपमहासचिव वर्षमान पुनले समेत कांग्रेसले सरकार बनाए माओवादीसँगै रहने धारणा राखे । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त प्रचण्डको ‘सरकार ढल्छ’ भन्ने रटानलाई नै नपसन्द गरेका छन् । स्रोतका अनुसार श्रेष्ठ अहिले वामपन्थी ध्रुवीकरणको प्रयासमा व्यस्त छन् र यसक्रममा उनले नेकपा (एस) का झलनाथ खनाल–घनश्याम भुसाल, नेकपा विप्लव समूहका नेत्रविक्रम चन्द र जसपाका उपेन्द्र यादवसँग भेटघाटसमेत गरेका छन् ।
स्थिरताको ओलीको दाबी
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सत्ता समीकरणलाई अझै बलियो बनाउँदै लगेका छन् । संसद्मा सम्बोधन गर्दै उनले विपक्षी दलले दिनहुँजसो हल्ला पिट्ने गरेको उल्लेख गर्दै प्रश्न गरे– “स्थिरता विपक्षीलाई किन यति अप्रिय लाग्छ ?”
उनले स्पष्ट पार्दै भने, “कांग्रेस र एमाले मात्र होइन, अन्य दलसमेत मिलेर बनेको यो सरकार बलियो संसदीय गणितको जगमा उभिएको छ । आजै ढल्छ, भोलि ढल्छ भन्ने कुरा अस्थिरताको पक्षपोषण मात्रै हो ।”
ओलीले यो समीकरण २०८४ सालको निर्वाचनसम्मै कायम रहने दाबीसमेत गरे । “अस्थिरताको चाहना जतिसुकै भए पनि आगामी निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,” उनको भनाइ थियो ।
‘प्रचण्ड कार्ड’ असफल
वैशाखमा नयाँ समीकरण हुने भनाइ असफल भएपछि प्रचण्डले अर्को राजनीतिक ‘कार्ड’ खेल्न खोजे । एमालेभित्र पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय हुँदै पार्टी राजनीतिमा फर्किने सम्भावना देखिएपछि उनले ठूलो अपेक्षा गरेका थिए । तर, एमालेले साउन ६ गते औपचारिक निर्णय गर्दै भण्डारीको पार्टी सदस्यता कायम नभएको र राजनीतिमा फर्किन नसक्ने निर्णय गर्यो । यससँगै प्रचण्डको अर्को आशा पनि टुट्यो ।
त्यस्तै, कांग्रेसभित्र डा. शेखर कोइरालाले दलको नेता फेर्ने प्रयास गरे पनि बहुमत जुटाउन नसकेपछि त्यो पनि सफल भएन । शेखर पक्षले प्रचण्डदेखि भण्डारीसम्म भेटेर समीकरण बदल्न खोजे पनि ८८ सिट भएको कांग्रेस संसदीय दलभित्र आवश्यक समर्थन जुटाउन नसक्दा पहल निष्प्रभावी भयो ।
प्रधानमन्त्री ओलीले समेत यसलाई ‘हल्लाको कथा’ भन्दै सामान्यीकरण गरे । उनले भने, “नेपाली कांग्रेसभित्र दलको नेता फेर्न १२ मत पुगेको छैन भन्ने कुरा सुन्दै आएको छु । यो कथा पटक–पटक दोहोरिन्छ, तर केही हुँदैन । स्थिरताका लागि बनेको यो समीकरण २०८४ सम्मै जानसक्छ ।”
निष्कर्ष
राजनीतिक विश्लेषकहरूको भनाइमा प्रचण्डका बारम्बारका भविष्यवाणी असफल हुँदा उनको राजनीतिक विश्वसनीयतामै प्रश्न उठेको छ । बरु प्रधानमन्त्री ओलीले कांग्रेससँगको सहकार्यलाई मजबुत बनाउँदै सरकारलाई स्थायित्व दिने वातावरण बनाएका छन् ।
बरिष्ठ विश्लेषक हरुका अनुशार, “आजका दिनमा कांग्रेस–एमालेबीच सहमति कायम रहेसम्म अन्य विकल्पले सरकार ढल्दैन । प्रचण्डले भनेको मात्रै आधार मानिँदैन ।”