
कैलाली । कैलाली कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा परेर एक कैदीबन्दीको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको हो । उपचारपछि अस्पतालले कैदीबन्दीलाई डिस्चार्ज गरिसकेको छ । तर फेरि पनि झडप हुने डरले डिस्चार्ज गरिएका विरामीलाई पनि कारागार फिर्ता गरिएको छैन ।
कैलाली कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा परेर घाइते भएका ३९ जना कैदीबन्दी अस्पतालबाट डिस्चार्ज भएका छन् । तर सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेका उनीहरुलाई अस्पतालमै कडा सुरक्षाका बिच राखिएको छ ।
डिस्चार्ज भएका मध्ये पाँच जनालाई भने अन्यत्र स्थानान्तरण गरिएको छ । चारलाई कञ्चनपुर र एक जनालाई पश्चिम नवलपरासीको कारागारमा स्थानान्तरण गरिएको छ । अस्पताल रहेकाहरु मध्ये कतिपयले अन्यत्र स्थानान्तरणको इच्छा देखाएकाले निवेदन मागिएको छ भने केही कैलाली कारागारमै फर्किन चाहेका छन् ।
अहिले सेती प्रादेशिक अस्पताल अन्तरगत रहेको कोरोना अस्पतालमा सुरक्षा दिएर राखिएका कैदीबन्दीको व्यवस्थापनको गृहकार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ । कैदीबन्दी अस्पतालबाट डिस्चार्ज भईसक्दा पनि प्रशासनले फेरि घटना हुने डरले न सोही कारागारमा पठाउन सकेको छ, न त स्थान्तरण गर्न सकेको छ । समयमा कैदीबन्दीको स्थान्तरण नगरेर अस्पतालमा नै कारागार बनाएर राखेको भन्दै कैदीबन्दीका आफन्तले आक्रोस पोखेका छन् ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा गठन भएको छानबिन समितको प्रतिवेदनका आधारमा घाइते भएका कैदीहरूलाई अन्य जिल्लाको कारागार पठाउने तयारीमा प्रशासन रहेको छ । तत्काल कैलाली कारागारमा राख्न नसकिने भएकाले कैदीबन्दीका आफन्तको सहमतिमा चाहेको ठाउँमा पठाउने तयारी गरेको प्रशासनले गरेको छ ।
कारागारको प्रतिवेदनको विश्लेषणपछि मात्र कैदीहरूलाई कैलालीमा नै राख्ने कि अन्य स्थानान्तरण गर्ने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय लिने बताएको छ । केही कैदीबन्दीले कैलाली कारागारमा नै बस्ने इच्छा ब्यक्त गरेपछि समस्या भएको र अब केही समय भित्र स्थान्तरण गरिसक्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशी बताउँछन् ।
कैलाली कारागारमा भएको हिंसात्मक घटनामा गम्भीर लापरवाही देखिएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई तत्कालै गृह मन्त्रालय सरुवा गरी कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको हो । गत २३ साउनको राति कैलाली कारागारको ब्लक ए का कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणका क्रममा उक्त ब्लकमा रहेका एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।