News 24 Television
उद्योगसँग जोडिदैछ नेपालको प्रविधिक–शिक्षा

काठमाडौं । नेपालका विश्वविद्यालयहरू दशकौं दशकदेखि केवल सिद्धान्तमा अड्किएर बजारको मागबाट पछाडि सरेका छन् । त्यही खाडल भित्र सामसङले कोडिङ र एआई तालिममार्फत विद्यार्थीहरूलाई नयाँ सीप दिने प्रयास गर्दा उत्सव त सिर्जना भयो । तर, के यी सीपले नेपालमै अवसर खोलेका छन् वा दक्ष युवाको अर्को पलायनको बाटो मात्र खुलाउँदैछ ? 

नेपालका विश्वविद्यालयहरू प्रायः पाठ्यपुस्तकमै सीमित, परीक्षा–केन्द्रित संस्कृति, र बजारले माग गर्ने सीपभन्दा दशकौँ पछाडि रहेको आरोप खेप्दै आएका छन् । विश्वविद्यालय भित्र पढाइ अझै पनि सिद्धान्तमा अड्किएको छ भने बाहिरको बजार सीपको खाँचोमा छट्पटाइरहेको छ । 

यही पृष्ठभूमिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एउटा भव्य समारोहमा सामसङले ५६ विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिमको प्रमाणपत्र वितरण ग¥यो । साधारणतया हेर्दा यो एउटा औपचारिकता मात्र हो जस्तो लाग्छ । तर गहिरो विश्लेषण गर्दा यसले नेपालको प्रविधिक–शिक्षा, युवा रोजगारी, र भविष्यको बाटोबारे गम्भीर बहस सिर्जना गरेको छ । 

सामसङ इन्नोभेशन क्याम्पस : अवसर कि भ्रम ?

सन् २०२२ देखि सञ्चालनमा आएको सामसङ इन्नोभेशन क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयसँग सहकार्यमा अघि बढाइएको हो । एआई, बिग डाटा, आइओटी र कोडिङजस्ता अत्याधुनिक विषयमा छोटो अवधिको प्रशिक्षण दिइन्छ । भविष्यको सीप सिकाइएको सामसङको दाबी छ । 

केही सहभागी विद्यार्थीहरू यसलाई जीवन–परिवर्तनकारी अनुभवको रूपमा बुझेका छन् । किनकी अबको भविष्य भनेको आईटी कै हो । 

तर यत्ति मात्रले प्रश्न समाधान हुँदैन । प्रमाणपत्र त प्राप्त भयो, तर ती सीपले नेपालमै मूल्य सिर्जना गर्ने त हैन ? वा फेरि उनीहरू हजारौँ सीपयुक्त युवाको जस्तै विदेशिने लहरमै हराउने त होइनन् । प्रश्न भने उठाएको छ । 

रोजगारी : सबभन्दा ठूलो ‘ग्याप’

नेपालमा प्रविधि क्षेत्र विस्तार भइरहेको छ भन्ने उदाहरणहरू छन् फिनटेक, इ–कमर्स, डिजिटल मार्केटिङ, र सफ्टवेयर कम्पनीहरू । तर मागको दायरा अझै सीमित छ । वर्सेनि हजारौँ इन्जिनियरिङ र कम्प्युटर साइन्सका स्नातक उत्पादन भइरहेका छन् । तर नेपालभित्र पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन । विद्यार्थीले पढाइभन्दा बढी बजारले माग गर्ने परियोजना, स्टार्टअप, वा अनुसन्धानमा काम गर्ने अवसर चाहेका छन् । 

उनीहरूको चिन्ता के हो भने उद्योगसँगको सहकार्य निरन्तर नहुने र सरकारले टेक्नोलोजी क्षेत्रलाई प्राथमिकतामा नदिने हो भने यस्तो तालिम केवल ‘सीप लिएर विदेशिने’ प्रक्रियाको अर्को चरण बन्न सक्छ ।

नेपालका विश्वविद्यालयहरू दशकौँदेखि सिद्धान्त केन्द्रित परम्परामा अड्किएका छन् । व्यावहारिक तालिम र उद्योग–विश्वविद्यालय सहकार्य अपवादका रूपमा मात्र पाइन्छ । सामसङको कार्यक्रमलाई त्यसैले सकारात्मक कदम मान्न सकिने शिक्षकहरूको भनाई छ । 

तर दीर्घकालीन प्रभावका लागि नीति–निर्माता, विश्वविद्यालय र निजी क्षेत्रबीच संस्थागत सहकार्य अनिवार्य छ । अझ महत्वपूर्ण कुरा, प्रविधि–आधारित रोजगारी सिर्जना गर्न सरकारको नीति अस्पष्ट छ । आईटी पार्कहरू वर्षौँदेखि घोषणामा मात्र सीमित छन्, अनुसन्धान र नवप्रवर्तनका लागि पर्याप्त लगानी छैन र स्टार्टअप मैत्री वातावरण अझै बन्न सकेको छैन । 

ब्रेन ड्रेनको जोखिम

शिक्षित युवाशक्ति अहिले पनि विशाल संख्यामा विदेशिन बाध्य छ । खाडी मुलुकदेखि युरोप र अमेरिकासम्म नेपाली युवाको लहर बढिरहेको छ । प्रविधि क्षेत्रमा दक्ष जनशक्ति बने पनि त्यही लहरमा गुम्ने खतरा रहन्छ । 

एआई र बिग डाटाजस्ता सीप सिके पनि नेपालमै त्यसको प्रयोग गर्ने प्लेटफर्म सीमित छन् । सामसङ इन्नोभेशन क्याम्पस नेपालमा दिगो प्रविधि–अर्थतन्त्र निर्माणतर्फको पहिलो पाइला हो ? वा केवल प्रमाणपत्र बाँड्ने औपचारिकता ? गम्भीर बन्नुपर्ने बेला आएको छ । 

साना कदम, ठूलो बाटो

५६ विद्यार्थीलाई दिइएको प्रमाणपत्र छोटो अवधिको सानो उपलब्धि मात्र हो । तर, यसले विश्वविद्यालय र उद्योगको सहकार्य सम्भव छ भन्ने देखाएको छ । यसले केही प्रश्नहरु उठाउका छन् । 

–    के यस्तो तालिमलाई राष्ट्रिय स्तरमा विस्तार गर्न सकिन्छ ? 

–    के सरकारले प्रविधि क्षेत्रमा ठोस रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सक्छ ?

–    के विश्वविद्यालयहरूले आफ्नो संरचना सुधारेर व्यावहारिक शिक्षालाई प्राथमिकता दिन सक्छन् ?

सामसङको कार्यक्रमलाई नकार्न सकिँदैन । यो युवालाई नयाँ सीप दिने, आत्मविश्वास जगाउने र भविष्यप्रति आशावादी बनाउने पहल हो । तर यदि नीति–निर्माता, विश्वविद्यालय र उद्योगले दीर्घकालीन दृष्टिकोण लिएनन् भने यस्तो तालिम केवल प्रमाणपत्रकै सजावटमा सीमित हुनेछ । 

युवाले आज प्रमाणपत्र पाए, भोलि रोजगारी पाउनेछन् कि फेरि विदेशिन बाध्य हुनेछन् ? यही प्रश्न नेपालको प्रविधि–शिक्षा यात्रामा सबभन्दा पेचिलो र निर्णायक बन्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update