News 24 Television
गेटा विश्वविद्यालयबाट एमबीबीएसदेखि नर्सिङसम्म पढाइ सुरु हुने

कैलाली । गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय भएको छ । बुधवार बसेको विश्वविद्यालय सभाले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेको हो । 

सुदूरपश्चिमका लागि बहुप्रतीक्षित स्वास्थ्य शिक्षा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । आगामी शैक्षिक सत्रदेखि नै कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछ । 

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षाका ४ विद्यालयमा अध्यापन गर्ने निर्णय गरेको उपकुलपति प्रा.डा. सुनिल कुमार जोशीले बताए ।  

बैठकको निर्णय अनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ । त्यस्तै ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी समेत अघि बढाइएको छ । 

सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतसमेत सुनिश्चित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिसकेको छ । आर्थिक वर्ष ०८२÷८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलब बापत ५ करोड रुपैयाँ बजेट उपलब्ध भइसकेको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । 

गोदावरी नगरपालिका–५ मा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयमा हालसम्म नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन् । २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

बुधबारको सिनेट बैठकले विश्वविद्यालय सभामा दुई महिला र दुई पुरुष सदस्य मनोनीत गरेको भएपनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन । यसअघि विश्वविद्यालयका तीन वटा बैठक संघीय राजधानी काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो । 

कानुनी व्यवस्थाअनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा सभा गठन गरिएको छ । जसको अध्यक्ष शिक्षामन्त्री रहने प्रावधान छ । सभामा स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ । 

विश्वविद्यालयका एक उपकुलपति सदस्य रहने प्रावधानअनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तलाई यसअघि नै मनोनयन गरिएको थियो । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । यसले गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update