
मुगु । मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् ।
यी हुन्, मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ काकीबाडाका रामराज कार्की । उनले विगत १० वर्ष पहिले २० हजारबाट सुरु गरेको च्याउ ब्यावसाय पछिल्लो समयमा राम्रो आम्दानीको स्रोत बनिरहेको छ । कन्न जातको च्याउ खेतीमा रमाइरहेका उनी बिहान बेलुका प्लाष्टिकको टनेल च्याउ घरमा ब्यास्त देखिन्छन् ।
उनले वार्षिक सिजन अनुसार ४ बटा ठानेर घरमा ४ सय सम्म बल राख्ने गरेका छन् । प्रति बलबाट ३ देखी ४ केजीसम्म च्याउ उत्पादन हुने बताउछन् कार्की । च्याउ प्रति केजी ४ सयसम्ममा पनि विक्री हुने गरेको छ । च्याउखेतीबाटै उनी वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गर्दछन् । स्थानीय सरकारदेखि अन्य सरोकारवालाबाट केही अनुदान रकम पाए थप व्यावसायलाई बृद्वि गर्ने लक्ष्य राखेका छन्, रामराज कार्कीले ।
यता, खत्याड गाँउपालिका वडा ५ मा अस्थाई बसोवास गर्दै आएका बम बहादुर बुढा पनि पछिल्लो समयमा जलवायु परिवर्तनका कारण परम्परागत खेती गर्न गाह्रो परेकाले च्याउ खेतीमा आकर्षित छन् । समयमा पानी समेत नपर्ने, खेती बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन मुस्किल हुने परिस्थितिमा च्याउ खेती उत्तम विकल्प भएको बुढाको अनुभव छ ।
च्याउ विक्रीका लागि उनी बजार समेत पुग्नु पर्दैन । ग्राहक घरमै आउछन् । ३ सय रुपैयाँका दरले घरबाट नै दैनिक ५ देखि ८ केजी च्याउ बमबहादुर बुढाले विक्री गर्छन् । अन्य पेशा,बिदेश जानु भन्दा नेपालमै आफ्नो घर परिवारसंग बसेर च्याउ खेति गरी आत्म निर्भर हँुदा खुशी छन्, उनी ।
मुगु जिल्लामा च्याउ खेति निकै उपयुक्त हावा पानि भएको जिल्ला हो । च्याउको माग बजारमा निकै बढी रहेको छ । च्याउ खानाले मानिसको स्वास्थ्यमा राम्रो हुने भएको हुदा च्याउको माग मुगुमा बढी रहेको छ । च्याउ खेति गर्दै आएका कृषकलाई सहयोगका लागि सरकारले एक–एक लाख रुपैयाँ सहयोग पनि गर्दै आएको छ । अनुदान रकमसहित च्याउ खेति सम्बन्धि तालिम, गोष्ठि, बिउँलगाएत अन्य ज्ञान प्रदान समेत गर्ने गरिएको छ । मुगुमा च्याउ खेती बढाउन युवा आकर्षणका काम पनि भइरहेका छन् ।
राज्यका तीनै तहका सरकारले बेरोजगार युवाहरुलाई तालिम एवम् सीप दक्षता प्रदान गर्दै आयआर्जन सहजताका लागि प्रयास थाले मुगुलाई च्याउ उत्पादनको हवकै रुपमा विकसित गर्न सकिने सम्भावना राम्रो रहेको छ ।