
काठमाडौं । उखु किसान अनुदान बक्यौता माग्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । बक्यौता भुक्तानीका लागि आन्दोलित रहेका किसानको माग सरकारले पुरा गर्ने प्रतिबद्धता जनाएपनि पुरा हुन सकेको छैन् । यस्तोमा संसदमा समेत किसानको विषयमा चर्को आवाज उठेको छ । के किसानहरुले राखेको माग पुरा गर्न सरकार अघि बढ्ला ?
उखु उत्पादक संघ नेपालको नेतृत्वमा आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई आफूहरुको माग सम्बोधन गर्न दबाब दिँदै काठमाडौंको माईतीघर मण्डलामा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने किसानहरुको मुख्य माग छ । त्यस क्रममा उनीहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरुद्ध चर्का नारावाजी समेत लगाएका छन् ।
१३ जिल्लाबाट काठमाडौंमा आन्दोलन गर्दै आएका उखु किसानहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् । यो विषयमा सदनमा समेत आवाज उठेको छ ।
प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा समेत उखु किसानलाई संरक्षण गर्नुपर्ने, बक्यौता भूक्तानी सहजीकरण गर्नुपर्ने विषयमा आवाज उठेको छ ।
उखु किसानले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । सरकारले तोकेको अनुदान समेत किस्ताबन्दीमा दिने तयारी गरेपछि उनीहरुले एकैपटक दिनुपर्ने भनिरहेका छन् । किसानले आफ्नो बारीमा उखु खेति गर्न नै जाँगर मर्न थालेको भन्न थालेको बेला सरकारले किसानलाई चित्त बुझाएर घर फर्काउला ? यो विषयमा चासो बढेको छ ।