
कैलाली । शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइएको छ । दार्चुला, बैतडी, डडेल्धुरा सहितका पहाडी जिल्लामा यस दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् । गौरा पर्वमा काम विशेष र रोजगारीका शिलशिलामा भारतलगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराउ भएका छन् ।
यतिबेला सुदूरपश्चिम क्षेत्र गौरा पर्वको उल्लासमा झुमेको छ । सुदूरपश्चिमको मौलिक संस्कृतिको रुपमा रहेको गौरा पर्वको हर्षोल्लासले सुदूरपश्चिममा रौनक छाएको हो । गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ ।
भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।
देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ । पुरुषहरूले पनि ठाडोखेल, देउडा, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्।
देउडा खेल....
सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले परदेशिएकाहरू पनि गौरामा घर फर्किने गरेका छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ। गौराको उत्पत्ति, भगवान शिवको अर्को स्वरुप महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्।
यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार सार्वजनिक बिदा दिइएको छ । यता, काठमाडौंको टुडिखेलमा समेत गौरा पर्व धुमधामका साथ मनाइएको छ । काठमाडौंमा रहेका पश्चिमेलीहरुले उल्लासका साथ शुभकामना आदानप्रदान गर्दै गौरा पर्व मनाएका छन् ।