News 24 Television
गीता पाण्डे प्रकरणः दुई क्लिनिक शिल, डा. सतिष रुपाखेती दोषी !

बुटवल । बुटवलमा गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा गठित छानबिन समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित समितिले तीन दिन लगाएर तयार पारेको २६ पृष्ठ लामो प्रतिवेदन नेपाल मेडिकल काउन्सिललाई बुझाएको हो । 

बुटवलमा गर्भपतन गर्ने क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन नेपाल मेडिकल काउन्सिललाई बुझाइएको छ ।

छानबिन समितिले बुटवलस्थित जोनल फार्मेसी र इन्दु लेखा स्वास्थ्य क्लिनिकलाई तत्कालका लागि शिल गर्न र बिरामीको उपचारमा संलग्न डा. सतिष रुपाखेतीलाई पनि बिरामी जाँच गर्न नपाउने गरी निलम्बन गर्न सिफारिस गरेको छ । उक्त प्रतिवदेनका आधारमा नेपाल मेडिकल काउन्सिलले बुटवलस्थित जोनल फार्मेसी र इन्दु लेखा स्वास्थ्य क्लिनिकलाई तत्कालका लागि शिल गर्ने निर्णय गरिसकेको छ । 

काउन्सिलले बिरामीको उपचारमा संलग्न डा.रुपाखेतीलाई पनि बिरामी जाँच गर्न नपाउने गरी निलम्बन गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले जानकारी दिएका छन् । 

मृतक गीता पाण्डे १३ हप्ताभन्दा बढीको गर्भमा रहेको भू्रण अस्वस्थ भएको भन्दै उपचारका लागि वैशाख ५ गते बुटवल आएकी थिइन् । 

सुरुमा उनी आफ्ना श्रीमान प्रकाश पाण्डेसँगै इटभट्टीस्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। यसअघि चैत २७ गते पनि सोही नर्सिङ होममा जाँच गराउँदा सञ्चालक डा. डिबी खत्रीले वैशाख ४ गते बोलाएका थिए । तर, वैशाख ५ गते खत्री नर्सिङ होमले आफ्नै अस्पतालमा उपचार नगरी गीतालाई लोकेसन म्यापसहित अस्पताल लाइनको जोनल फार्मेसीमा पठाएको थियो। जोनल फार्मेसीले गर्भपतनका लागि १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै २ हजार अग्रिम भुक्तानी लिएर उनलाई औषधि दिएको र पछि इन्दु लेखा क्लिनिक पु¥याएको खुलेको छ । सोही क्लिनिकमा डा. सतिष रुपाखेतीले जाँच गर्ने क्रममा गीताको मृत्यु भएको थियो । 

मृतकका पति प्रकाश पाण्डेले स्वास्थ्य संस्थाहरूले उपचारका नाममा नाफा कमाउने व्यापारिक उद्देश्य राखेर आफ्नी पत्नीको हत्या गरेको गम्भीर आरोप लगाएका छन् । 

पीडित पाण्डेले डा. डिबी खत्री र डा. सतीश रुपाखेतीलाई मुख्य दोषी ठहर गर्दै कानुनी कारबाहीको माग गरेका छन् । यद्यपि, छानबिन समितिले बुझाएको प्रतिवेदनमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीको बारेमा केही उल्लेख नभएको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएको छ।

पाण्डेले डाक्टरद्वयसहित जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दु लेखाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए । 

छानबिन समितिका संयोजक डा. सम्राट पराजुलीका अनुसार अन्तिम प्रतिवेदन तयार भएपछि घटनाको थप विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

प्रहरीले जाहेरीका आधारमा पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। तर, हाल डा. खत्री र डा. रुपाखेती थुनामुक्त भइसकेका छन् । घटनाबाट आक्रोशित आफन्तहरूले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दु लेखा क्लिनिकमा तालाबन्दी गरेका छन् । मृतक गीता पाण्डे रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी थिइन भने उनका पति एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update