News 24 Television
ओलीलाई सी जिनपिङको अप्रत्याशित जवाफ, भारतको ‘रियाक्सन’ बाँकी !

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमणमा भारत चीनले गरेको व्यापारिक सम्झौतामा लिपुलेक समावेश हुनु र चिनियाँ पक्षले दिएको जवाफले भारतलाई उत्साहित गर्नुले पनि नेपाल भारतको सम्बन्ध सहज बन्ला ? प्रश्नहरु उब्जिएका छन् । ओलीले चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक भेटबाहेक साइडलाइन वार्तामा रुची देखाएनन् । यसले पनि भारतको प्रतिक्रिया थप असहज हुने विश्लेषण हुन थालेको छ । 

प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपतिलाई तियानजिनमा भेट्दा नेपालकोतर्फबाट आफ्नो अडान राखे । ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीन र भारतले नेपालको भूभाग लिपुलेकलाई व्यापारिक प्रयोजनमा उपयोग गर्ने भन्दै गरेको सम्झौतामा आपत्ति जनाए । नेपालकोतर्फबाट आपत्ति जनाएपछि सीले लिपुलेक प्रकरणमा दिएको जवाफ नेपालको पक्षमा देखिएन । 

उनले दुई देशको सीमा विवादमा चीन पर्न नचाहने भन्दै लिपुलेक परम्परागत रुपमा नै भारतसंग मिलेर अघि बढिरहेको भन्दै तीतो जवाफ दिएपछि यसले भारतीय पक्ष उत्साहित देखिन्छ भने अन्तराष्ट्रिय फोरममा नेपालले दुई देशको विवादलाई उचालेको भन्ने मनशायमा भारत देखिन्छ । 

कुटनीतिका जानकारहरु यस्तो किशिमको जवाफसहित चीनको मौनता तोडिदाँ नेपाल कमजोर भएको टिप्पणी गरिरहेका छन् । तर लिपुलेक प्रकरणमा नेपाल सरकारले कडा अडान राख्ने भनिरहेको छ भने राजनीतिक तहबाट पनि यसको समाधान खोज्नुपर्ने र लिपुलेक नेपालको रहेकोमा शंका नरहेको भन्ने गरिन्छ । 

सरकारले यस्तो दाबी गर्दै गर्दा प्रधानमन्त्री ओलीले पनि चिनियाँ पक्षसंग राखेको यस्तो प्रस्तावकाबीच दुई देशको सम्बन्ध सहज बन्ला ? शंका र चासोहरु देखिन्छन् । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कैलाश मानसरोवर यात्रा फेरि सुचारु भएको भन्दै चीनलाई धन्यवाद दिएका छन् । 

लिपुलेकको नाम नलिई मोदीले रणनीतिक रुपमा यस्तो विषय अघि सारेपछि चिनियाँ राष्ट्रपति सीले पनि आफूलाई ड्रागन र भारतलाई हात्ती भन्दै मिल्नुपर्नेमा जोड दिए । यस्तो विषयले भारत–चीन नजिकिन थालेको देखिन्छ भने नेपालसंगको सम्बन्धमा केहि तिक्तता देखिने संकेतहरु देखिन थालेका छन् ।

मोदीको चलाखी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा प्रधानमन्त्री केपी ओलीसंग रात्रीभोजको कार्यक्रममा आकस्मिक रुपमा हात मिलाउन पुगे । 

नेपाली पक्षभन्दा पहिले नै मोदीले नेपालसंगको सम्बन्ध विशेष र खास रहेको भन्दै ट्वीट गर्दै सन्तुलन कायम गर्न खोजे । तर, ओली र मोदीको साइडलाइन वार्ता भने हुन सकेन । मोदी चीन भ्रमण सकेर भारत फर्किसकेका छन् भने ओली जापानविरुद्ध चीनले युद्ध जितेको र विश्व फासिस्टविरुद्ध ८० औं वर्षगाँठ मनाउने कार्यक्रममा सहभागी हुने भएका छन् । यसले पनि भारतले सांकेतिक रुपमा नेपालसंगको सम्बन्धलाई केहि दूरीमै राख्न चाहेको देखिन्छ ।

ओलीको भारत भ्रमण के होला ?

प्रधानमन्त्री केपी ओलीले लामो रस्साकस्सीपछि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाइसकेका छन् । भदौ अन्तिममा भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई भारतले दिल्लीमा नभई बिहारको बोधगयामा स्वागत गर्दैछ । 

जहाँ बुद्धले ज्ञान प्राप्त गरेका थिए । विभिन्न धार्मिक तथा ऐतिहासिक तथ्यमाथि अनेक दाबी गर्ने ओलीलाई बोधगयामा भेट्न खोज्नु, भारत भ्रमणको पूर्वसन्ध्यामा साइडलाइन वार्तामा रुची नदेखाउनु जस्ता विषयले पनि नेपाल भारत सम्बन्ध सहज नहुने संकेत गरिरहेको देखिन्छ । यतिमात्रै नभई नेपालबाट भारततर्फ निर्यात हुने प्लाइउड समेत सीमानाकामा रोकिएका छन् । 

ओलीको भ्रमणको पूर्वसन्ध्यामा यसरी सामान निर्यात रोकिनुदेखि नेपालले अन्तराष्ट्रिय मञ्चमा पनि सीमा विवादलाई उठाएर थप ध्यानाआकर्षण गराउन सफल हुनुले पनि भारत चिढिन सक्ने र व्यवहारमा पनि परिवर्तन हुने संकेतहरु देखिन थालेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update