
कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले माछा निकासीमा कर बढाएपछि माछा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । दोहोरो करले घेरर व्यवसायी र किसानको रोजिरोटी लुट्न खोजेको भन्दै आन्दोलन चर्काइएको छ ।
कैलालीमा यतिबेला माछा व्यवसायीले आन्दोलन चर्काएका छन् । माछाको निकासीमा प्रति केजी १० रुपैयाँ मूल्य बढाएपछि कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालय नै घेराउ गरिएको छ । नगरपालिकाले दोहोरो कर लिएर साना व्यवसायी र किसानहरुको रोजिरोटीनै खोसिने स्थिति सृजना गरेको माछा व्यवसायी संघ कैलालीको आरोप छ ।
गौरीगंगा नगरपालिकाले प्रति एक खसी, बाख्रा, सुँगुर र भेडामा ५० रुपैयाँ र राँगाको व्यवसायीक कारोबारमा ३ सय रुपैयाँ, भैसी,गाईमा प्रति एकको २ सय तथा माछामा प्रतिकिलो १० रुपैयाँ कर लगाएको छ ।
माछा व्यवसायी संघ कैलालीले नगरको निर्णय तत्काल नसच्याए निरन्तर आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएको छ । साईकल र बाईकमा बोकेर बर्षाैदेखि माछा ब्यवसाय सञ्चालन गरेर जिविकोपार्जन गर्दै आएका माछा व्यवसायीलाई पेशाबाटै पलायन हुने स्थितिमा पुर्याउने काम नगरले गरेको भन्दै नगरपालिका घेराउ गरिएको हो ।
हचुवाको भरमा नगरपालिकाले गरेको यस्तो निर्णायले माछा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई प्रत्यक्ष असर परेको र रोजीरोटी नै गुम्ने अवस्था सृजना भएको उनिहरुको भनाई छ ।
भारतबाट आयातीत विषाक्त रसायनको प्रयोग भएको माछाको विक्रीमा प्रतिबन्ध लगाउनुपर्ने समेत उनीहरुको माग छ । स्थानीय माछा व्यवसायीलाई प्रोत्सान गर्ने ठाउँमा उल्टै चर्को कर लगाएर काम गर्न नदिएको आरोप व्यवसायीको छ ।
माछा व्यवसायीहरुले विक्रीवापत कर असली बढाउन थालेपछि आवश्यक छलफलका लागि नगरपालिकामा निवेदन समेत दिएका थिए । तर, कार्यापालिकाको निर्णय अनुसार कर लिएकाले थप छलफल र निकास कार्यापालिका बैठकबाट मात्रै आउने देखिन्छ ।
बोका, खसी, भेडा, बाख्रा, सुँगुर र राँगामा कर लगाउँदा यसको असर व्यवसायीलाई मात्रै होइन किसानलाई बढी परेको छ । व्यवसायीले कर चुक्ता गर्नु पर्ने रकम किसानबाटै असुल्न थालेका छन् । नगरपालिकाले जिल्ला भित्रै पनि निकासी कर असुल्न थाल्दा किसानमा पर्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने देखिएको छ ।