कैलाली । जेनजी आन्दोलनको चपेटामा पर्दा सुदूरपश्चिम प्रदेशकोे राजधानी धनगढीमा मंगलबार ठुलो क्षति भयो । आन्दोलनले उग्र रूप लिँदा राजनीतिक दलका कार्यालय, सरकारी भवन र नेताका निवासहरूमा तोडफोड र आगजनी हुँदा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंशले सुदूरपश्चिम प्रदेश समेत स्तब्ध छ यतिबेला । आन्दोलनको उग्रताकै कारण तोडफोड र आगजनीका डरलाग्दा घटना भए । आगलागीमा र तोडफोडमा सुदूरपश्चिम प्रदेशका मुख्यतया सरकारी भवन र राजनीतिक दलका कार्यालयहरूलाई निशानामा पारियो ।
भष्ट्रचार विरुद्ध सडकमा उत्रिएका जेनजी पुस्ताले अर्बौंको संरचना ध्वस्त बनाएपछि यतिबेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ध्वस्त भएको छ । ७ वटा मन्त्रालय रहेको सुदूरुपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय संगै सबै मन्त्रालयको भवन आगजनी सगै खरानीमा परिणत भएका छन् ।
यो सँगै सुदूरपश्चिम प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका भवनहरु मालपोत कार्यालय,भन्सार,यातायात नापी कार्यालय,महालेखा नियन्त्रण कार्यालय,शहरी बिकास,सिचाई, र सरकारी सवारी सवारी साधनमा समेतमा जेन–जी समूहले आगो लगाएर खरानी बनाए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा समेत तोडफोड गरी आगजनी गरियो । यि घटनाले देशमा थप संकट पैदा हुँदा चिन्तामा छन्, सुदूरपश्चिमबासी ।
अहिलेको अवस्था र यस आन्दोलनले नेपालको सामाजिक–राजनीतिक संरचनामा गहिरो प्रश्न खडा गरिदिएको छ ।
