News 24 Television
जेन–जीले दिएको पीडा कम गरिँदै, स्थानीय नै जुटे सेवा सञ्चालनमा

कैलाली । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको सेवा सञ्चालनका लागि पुनःस्थापनामा जुटेका छन् । कर्मचारीसँगै स्थानीयको सहभागितामा कार्यालयहरू पुनःसञ्चालनको लागि सरसफाई, सामग्री व्यवस्थापन र सेवा सञ्चालनमा जुटेका हुन् ।  कार्यालयले अहिले प्राथमिकताका आधारमा सरसफाई र मर्मतलाई तीव्रता दिएको छ । 

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सुदूरपश्चिमका सरकारी कार्यालयहरूमा सेवा पुनः सञ्चालनका लागि तयारी थालिएको छ । सहजिकरणका लागि सरकारी कर्मचारीदेखि स्थानीय आफैं जुटेका छन् । 

क्षतिग्रस्त कार्यालयहरुमा विद्युत वायरीङ र नयाँ कम्प्युटर उपलब्ध हुनेबित्तिकै सेवा सञ्चालन गर्न सकिने कार्यालयहरुले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । अहिले कैलालीका सम्पुर्ण कार्यालयहरुले प्रशासनिक कामकाज तथा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको भन्दै भौतिक उपकरण तथा प्राविधिक सहयोगका लागि सार्वजनीक सूचना समेत जारी गरेका छन् । कामकाज ठप्प भएको कार्यालयको दैनिक काममा सहज, छिटो, छरितो होस भन्ने उद्देश्यले बिभिन्न संघसंस्थाहरुले सरकारी कार्यालयहरुलाई सहयोग गर्दै आएका छन् ।

अत्यावश्यक सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी तीव्रताका साथ अघि बढाइएको छ । भने, स्थानीय सरकारले पनि सेवा सुरु गर्न वैकल्पिक भवनमा व्यवस्था गरेर राजश्व संकलन, नागरिकता सिफारिस लगायतका अत्यावश्यक कार्य थालिरहेका छन्, केहि अब काम सञ्चालनको तयारीमा छन् । 

जिल्ला प्रशासन, नापी, मालपोत र वडा कार्यालयहरूमा क्षति पुग्दा तत्कालका लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीका लागि कागजात तयार गर्ने, बैंकिङ कारोबारका लागि घर, जग्गाको चार किल्ला सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण, घटना दर्ता लगायतका सेवामा तत्काल असर पुग्ने देखिन्छ । 

उता, आगजनीबाट पूर्ण रूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको छ । 

जनेजी आन्दोलनको प्रभाव सुदूरपश्चिममा उच्च परेको थियो । यस आन्दोलनका दौडान सुदूरपश्चिमबाटै सात जना युवाले ज्यान गुमाएका छन् भने, दर्जनौं युवा घाइते अवस्थामा छन् । सुदूरपश्चिमले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय सरकारका संरचनामा समेत अर्बौं बराबरको क्षति व्यहोर्नु परेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update