
काठमाडौं । नेपालको राजनीति अहिले गहिरो संक्रमणको घेरामा छ । सहकारी प्रकरणपछि रास्वपा अस्तित्व संकटमा फँसिरहेको छ, भने जेन–जी आन्दोलनले मधेश केन्द्रित जनमत पार्टीदेखि जसपा, लोसपा र राष्ट्रिय मुक्ति पार्टीजस्ता पुराना दलहरूको स्थायीत्वमा समेत चुनौती खडा गरेको छ ।
नयाँ पुस्ताले नेता केन्द्रित शैली र पुराना नेतृत्वलाई अस्वीकार गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको माग जोडदार रूपमा अघि सारेपछि ‘ब्राण्ड नेता’मा भर पर्ने र दशकौँदेखि एउटै व्यक्तिको वर्चस्वमा चल्दै आएका दलहरू अब आफ्नो भविष्य बचाउने कठोर परीक्षामा परेका छन् ।
पछिल्ला दिनहरुमा नेपाली राजनीति तरल अवस्थामा मात्रै होइन, साना दल र ब्राण्ड भ्यालु बनाएका नेताहरुको अस्थीत्व नै संकटमा देखिन्छ । ठुला दललाई संकटको अवस्था नभएको होइन, तर साना दल उनीहरुभन्दा जटिल अवस्थामा देखिन्छन् ।
नेपाली राजनीतिमा विगत केही वर्षयता विकल्पको भाष्य निर्माणमा सक्षम देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै अस्तित्व संकटसँग जुधिरहेको छ । सहकारी ठगी प्रकरणपछि सभापति रवि लामिछानेमाथि कानुनी कारबाही, त्यसलाई जोडेर चलाइएको हस्ताक्षर अभियान र हालैको ‘जेन–जी आन्दोलन’ले रास्वपाको राजनीतिक जीवनलाई अनपेक्षित दिशातर्फ धकेलेको छ ।
रास्वपाको प्रारम्भिक उदय ‘सबै पुराना दल असफल छन्’ भन्ने नारामा आधारित थियो । ‘ब्राण्ड रवि’ले जनताको असन्तोषलाई संगठित गर्ने शक्ति देखाएका थिए । तर सहकारी प्रकरणमा लामिछानेलाई जोडिएपछि रास्वपाको इमेज कमजोर हुन थाल्यो। नख्खु कारागार आक्रमण, विवादास्पद रिहाई पत्र, र कैदीबन्दीको थुनामुक्ति प्रकरणले पार्टी नेतृत्वको नैतिकता र कार्यशैलीलाई प्रश्नमा पारिदिएको छ ।
रविको विवाद र रास्वपाको अस्थिर भविष्य
सुरुवातमा रास्वपाले ‘राजनीतिक प्रतिशोध’को नाममा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेर आन्तरिक उत्साह जगायो । पार्टीको दाबी अनुसार ४० लाखले लामिछानेमाथि भएको अन्यायविरुद्ध हस्ताक्षर गरे । तर जेन–जी आन्दोलनको दोस्रो दिन नख्खु कारागार आक्रमण, प्रशासनको अनौठो शैलीमा भएको रविको रिहा र त्यसलगत्तै हजारौँ कैदीबन्दीको फरार हुनु, पार्टीका लागि ठुलो धक्का बन्यो ।
– नेतृ सुमना श्रेष्ठदेखि प्रविण काफ्ले जस्ता नेताहरूले असन्तुष्ट हुँदै पार्टी परित्याग गरे ।
– ‘संगीन अपराधमा संलग्नहरूलाई समेत छुटाउने बाटो देखाउने’ आरोपले रास्वपाको राजनीतिक हैसियत कमजोर बनायो ।
जेन–जी आन्दोलनले पनि रास्वपामा प्रत्यक्ष प्रभाव पारेको छ । यो आन्दोलनले युवापुस्तामा पुराना दल मात्र होइन, नयाँ भनेर आएको रास्वपामाथि पनि कठोर नजर लगाएको छ ।
पार्टीभित्र लोकतन्त्र छैन, आलोचकलाई दबाउने प्रवृत्ति छ भन्ने धारणा अब कार्यकर्तामाझ खुलेर आउन थालेको छ । रविको विवादले रास्वपाको मुख्य समर्थन आधार मानिने शहरी युवा र प्रवासी समुदायबीचको विश्वास कमजोर बनाएको छ ।
रास्वपाको सबैभन्दा ठूलो घाटा भनेको पार्टीको सम्पूर्ण संरचना ‘ब्राण्ड रवि’मा मात्र आधारित हुनु हो । लामिछानेको व्यक्तिगत करिश्मा, लोकप्रियता र सञ्चारशैलीमा भर पर्नु नै पार्टीको शक्ति थियो । तर त्यही करिश्मा विवादमा परेपछि पार्टी कमजोर बन्न पुग्यो । संस्थागत संरचना वा वैचारिक आधार बलियो नभएकाले वैकल्पिक नेतृत्वको खोजी कठिन भएको छ । यसैले अहिले रास्वपाको भविष्य नेता–केन्द्रित वा संस्थागत हुने भन्ने प्रश्नले पार्टीलाई भित्रैदेखि चिर्न थालेको छ ।
जनमत पार्टीमा दरार : सीके राउतको नेतृत्वमाथि प्रश्न
यस्तै संकट मधेश केन्द्रित जनमत पार्टीमा पनि देखिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलगायत ६ नेताहरूले सामूहिक राजीनामा दिएपछि राउतको एकल नेतृत्वमाथि प्रश्न उठेको छ ।
‘जेन–जी आन्दोलन’को प्रत्यक्ष प्रभाव यहाँ पनि देखियो । असन्तुष्ट पक्षले अध्यक्ष राउत र उनका सहोदर दाजु जयकान्त राउतले पद छोड्नुपर्ने माग राखे । उनीहरूले युवापुस्ताको आवाजलाई सम्बोधन गर्न नेतृत्व हस्तान्तरण आवश्यक रहेको दाबी गरेका छन् । यस घटनाले जनमत पार्टी मात्र होइन सम्पूर्ण मधेशी राजनीति भित्रै पुस्तान्तरणको बहसलाई गहिरो बनाएको छ ।
पुराना मधेशी दल र स्थायीत्वको प्रश्न
मधेशमा दशकौँदेखि केही नेताहरूको एकछत्र नेतृत्व कायम रहँदै आएको छ ।
– उपेन्द्र यादव : १८ वर्षदेखि जसपामा निरन्तर अध्यक्ष ।
– महन्थ ठाकुर : ८३ वर्षको उमेरमा अझै नेतृत्व सम्हालिरहेका, १८ वर्षमा एकपटक मात्रै महाधिवेशन ।
– राजेन्द्र महतो : नयाँ पार्टी बनाएर पनि एकल वर्चस्व कायम राख्दै ।
यी नेताहरूले नेतृत्व सम्हालिरहे पनि जेन–जी
आन्दोलनपछि पार्टीभित्र युवा पुस्ताले ‘लोकतन्त्रको अभ्यास पार्टीमै किन छैन?’ भनेर प्रश्न गर्न थालेका छन् । यी नेताहरूले स्वेच्छाले नेतृत्व हस्तान्तरण नगरे भने संगठनमै दरार बढ्ने सम्भावना रहेको विश्लेषण पनि भैरहेको छ ।
पुस्तान्तरण अपरिहार्यता
देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ले युवापुस्तामा राजनीतिक चेतना जगाएको छ । यो आन्दोलनले दुई तहमा प्रभाव पारेको छ ।
– पुराना दलहरूको असफलता, अवसरवाद र नेताकेंद्रित शैलीलाई अस्वीकार गर्ने धारणा बलियो बनाएको छ ।
– नयाँ पुस्ताले नेतृत्वमा पहुँच पाउनुपर्ने मागलाई संस्थागत बहसमा बदल्दै लगेको छ ।
रास्वपा जस्तो नयाँ विकल्प दाबी गर्ने दलदेखि मधेशी क्षेत्रीय दलहरू सबै यसै बहसमा घेरिन थालेका छन् । नेपाली राजनीति अहिले संक्रमणको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ ।
‘ब्राण्ड नेता’मा भर पर्ने दलहरूको अस्तित्व प्रश्नमा परेको छ भने, पुराना मधेशी नेताहरूको स्थायीत्वमा चुनौती उब्जिएको छ । नेतृत्व हस्तान्तरण र पार्टीभित्र लोकतान्त्रिक अभ्यास अब अपरिहार्य बन्दै गएको छ ।
दलहरूले यो चेतावनीलाई समयमै आत्मसात गरेनन् भने नयाँ पुस्ताको विकल्प खोज्ने यात्रा अझ तीव्र बन्नेछ । जसले पुराना संरचनालाई मूलबाटै नहल्लाउँला भन्न सकिन्न ।