
रुपन्देही । जेन–जी आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । यद्यपि, नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक वत्ती, सीसीटीभी, आकाशे पुलका सिसाहरु भने प्रदर्शनकारीले तोडफोड गरेका छन् । केही वडा कार्यालयमा क्षति पुगेपनि नगर प्रहरी र स्थानीयको चलाखीले नगरपालिका कार्यालय जोगिएको छ ।
जेन–जी आन्दोलनका क्रममा रुपन्देही जिल्ला उच्च प्रभावित मध्येको एक हो । रुपन्देहीका प्राय सरकारी कार्यालय, निजी व्यवसायिक प्रतिष्ठानसँगै नेता, जनप्रतिनिधिको बास स्थान जलाइयो । मुख्य गरी बजार क्षेत्रमा रहेका सरकारी कार्यालयहरु आन्दोलनको प्रभावबाट जोगिन पाएनन् ।
आन्दोलनकै कारण रुपन्देहीका २७ वटा सरकारी कार्यालय, २७ वटा निजी आवास र व्यापारिक प्रतिष्ठान तथा १७ वटा पार्टी कार्यालय गरी ७१ वटा भवन र संरचनामा आगजनी तोडफोड र लुटपाट भएको बताइएको छ । तर, आन्दोलनमा रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी, तोडफोड र लुटपाट भए पनि तिलोत्तमा नगरपालिका कार्यालय भने यसबाट जोगिएको छ । तिलोत्तमा नगरपािलकाका नगर प्रमुख स्वयंम रामकृष्ण खाण सहित नगरका अन्य धेरै सार्र्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।
नगरपालिकाको मुख्य सिक्सलेन सडकमा रहेका ट्राफिक लाइट, सडक बत्ती, सिसिटिभी, आकाशे पुलका सिसाहरु पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् भने वडा कार्यालयहरु पनि प्रदर्शनकारीले क्षति पुराएका छन् ।
जेनजी आन्दोलनकारीले विभिन्न जनप्रतिनिधि तथा व्यवसायिक प्रतिष्ठान र ईलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी, तोडफोड र लुटपाट गरे पनि नगर प्रहरीको विशेष सावधानी, स्थानीयको सहयोग जनप्रतिनिधी , तीनै तहका सुरक्षा निकाएको सहयोगले यस कार्यालयमा कुनै अप्रिय घटना हुन भने पाएन ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ दिउँसो प्रदर्शनकारीहरु पटक—पटक तिलोत्तमा नगरपालिका कार्यालय पुग्ने प्रयत्नमा थिए । नगर प्रमुख रामकृष्ण खाणको घरमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारीहरु तिलोत्तमा नगरपालिकातिर हिँडेका थिए । तर, आन्दोलनकारीहरुलाई स्थानीय युवाहरुले तिलोत्तमाको गरिमा र महिमा बुझाउँदै सार्वजनिक सम्पत्ति तोडफोड गर्नु हुँदैन भनेर सम्झाएपछि आन्दोलनकारीहरु भैरहवातिर लागेका थिए ।
भदौ २४ गते दिउँसोबाट जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी तथा तोडफोडका घटनाहरु सामाजिक सञ्जालमा छाएपछि कृष्ण घिमिरेको नेतृत्वमा स्थानीय बासिन्दाले नगरपालिकाको गेटमा पुगेर निगरानी थालेका थिए ।
उनीहरुले कार्यालयमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीरहरु निकालेर आफूसँगै राखी कार्यालय पुग्ने आन्दोलनकारीहरुलाई कार्यालयमा कारवाही भैसक्यो अब केही गर्नुपर्दैन भनेर सम्झाई बुझाई फर्काएका हुन् । यत्तिसम्मकी नगर प्रहरी समेत स्वयम सिभिल ड्रेसमा बसेर स्थानीय बनेका थिए । जसले गर्दा पालिका जोगाउन सहज भएको हो ।
नगर प्रहरी प्रमुख नरप्रसाद श्रेष्ठको कुशल समन्वय तथा स्थानीयको सहयोगले कार्यालयमा कुनै पनि प्रकारको अप्रिय घटना हुन पाएन । नगर प्रहरी प्रमुख श्रेष्ठले नगरका विभिन्न व्यक्तिलाई सहयोगको निरन्तर अपिल गर्नुको साथैं पटक पटक कार्यालयमा पुगेका आन्दोलनकारी समूहलाई सम्झाइ बुझाई गरेकोले सफलता प्राप्त भएको बताउँछन् ।
भदौ २४ गते रातभर नगर प्रहरी र स्थानीय बासिन्दाले नगरपालिका कार्यालयलाई पहरा दिएर राखेकोमा राति १० बजेबाट सुरक्षाको जिम्मा नेपाली सेनाले लिएपछि २५ गते एका बिहानै नेपाली सेनाको टोली नगरपालिका तैनाथ भएको थियो । सेनाले पालिका कार्यालयको सुरक्षा कम्पाण्ड सम्हालेपछि पनि पटक पटक आन्दोलनकारीहरु पालिका आक्रमणको लागि नगरपालिका गेटसम्म पुगेका थिए ।
नेपाली सेनाको टोलीले भदौ २७ गतेसम्म पालिकामा सुरक्षा प्रदान गरेको थियो । सेना फर्किएपछि नगर पालिका कार्यालय क्रमशः पुरानै लयमा फर्किदै गएको छ ।
तिलोत्तमा नगरपालिकामा रहेका विभिन्न जनप्रतिनिधिका घरमा आगजनी, तोडफोड र लुटपाट हुँदा समेत स्थानीयको समन्वय र सक्रियताले तिलोत्तमा नगरपालिका कार्यालय यसबाट जोगिएको घटनाले स्थानीय एकजुट हुँदा बाहिरबाट आउने जो कोहीलाई पनि रोक्न सकिन्छ भन्ने प्रष्ट सन्देश दिएको देखिन्छ ।