News 24 Television
विश्व थर्कमान पार्ने जेन–जी थप ‘पावरफुल’ ! किशोरीसँगको त्यो कनेक्सन !

काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको थियो, तपाईंको स्मार्टफोनको स्क्रिनभित्र लुकेको शक्ति कति विशाल हुनसक्छ ? आजको युवापुस्ता, जसलाई हामी जेनेरेसन जेड (जेन–जी) भन्छौँ, उनीहरूले यही डिजिटल शक्तिलाई हतियार बनाएर संसारका शक्तिशाली सरकारहरूलाई घुँडा टेकाउँदै छन् । सामाजिक सञ्जालमा हुर्किएको एउटा विद्रोह जहाँ नेतृत्वविहीन युवाहरू भ्रष्टाचार, आर्थिक असमानता र अलोकतान्त्रिक शासनविरुद्ध आवाज उठाइरहेका छन् । जेन–जीको आक्रोशले विश्वभरका पुराना र परम्परागत राजनीतिक संरचनाहरूलाई चुनौती दिइरहेको छ । 

विश्वका सडकहरू यतिबेला युवाहरूको नयाँ लहरले गुञ्जायमान छन्, र यो कुनै सामान्य जुलुस होइन । यो हो डिजिटल युगको एउटा ज्वालामुखी हो, जसले शताब्दीयौँदेखि जरा गाडेका सत्ताका आसनहरूलाई हल्लाइरहेको छ । यी युवाहरू जसलाई हामी जेनेरेसन जेड अर्थात (जेन–जी) भन्छौँ, आज स्मार्टफोनको स्क्रिनबाट निस्किएर सडकमा उत्रिएका छन् र उनीहरूको हातमा भ्रष्टाचार, आर्थिक असमानता, र अन्यायविरुद्धको ‘प्ल्याकार्ड’ छ । यसको सुरुवात सन् २०१८ मा स्विडेनकी एक किशोरी, ग्रेटा थनबर्गको एउटा सानो आन्दोलनबाट भएको थियो । 

उनले जलवायु परिवर्तनको मुद्दामा आवाज उठाएकी थिइन् । त्यसपछि, यो आवाजले विश्वभरका युवाहरूलाई जोड्दै गयो । सन् २०२४ को जुनमा केन्यामा जब जेन जीले कर वृद्धिविरुद्ध आन्दोलनको ज्वाला सल्काए, त्यसले त सम्पूर्ण विश्वको ध्यान खिच्यो । यो आन्दोलन यति शक्तिशाली थियो कि प्रहरीको गोलीबाट ६५ भन्दा बढी प्रदर्शनकारीको ज्यान गए पनि उनीहरू रोकिएनन् । अन्ततः सरकार झुक्न बाध्य भयो ।  

केन्याको यो सफलताले विश्वलाई युवाहरूका आवाजलाई अब नजरअन्दाज गर्न सकिँदैन भन्ने सन्देश दियो । अहिले मंगोलियादेखि मालीसम्म, सर्बियादेखि नेपालसम्म जेन जीले परम्परागत सत्तालाई चुनौती दिइरहेका छन् ।

जेन–जी आन्दोलनहरूको शक्ति र विशेषता

–    यी आन्दोलनको कुनै एक निश्चित नेता हुँदैन । सामाजिक सञ्जालमा उठेको एक आवाज वा ह्यासट्यागले हजारौं युवालाई सडकमा उतार्न सक्छ । 
–    परम्परागत आन्दोलनहरूभन्दा फरक, जेन जीले मौन धर्ना, साइकल ¥याली, कलात्मक प्रदर्शन र डिजिटल अभियानजस्ता रचनात्मक र शान्तिपूर्ण रणनीतिहरू अपनाउँछन् ।

–    सरकारी दमन र धडपकडका बाबजुद पनि यी आन्दोलनहरू सजिलै रोकिँदैनन् । 

–    युवाहरूले आफ्नो अडानमा दृढता देखाउँछन्, जसले गर्दा सरकारलाई झुक्न बाध्य बनाउँछ ।

–    टिकटक, इन्स्टाग्राम, एक्स र फेसबुकजस्ता प्लेटफर्महरू जेन–जीका लागि सूचना र शक्तिको स्रोत बनेका छन् । 

केन्या सरकारले कर बढाउने आर्थिक विधेयक ल्याएपछि जेन–जीले सामाजिक सञ्जालमा ‘अकुपाई पार्लियामेन्ट’ अभियान चलाए । १८ जुन, २०२४ मा सुरु भएको यस आन्दोलनले २५ जुनमा हिंसात्मक रूप लियो, जब प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरे । 

प्रहरीको गोलीबाट ६५ जनाभन्दा बढीको मृत्यु भयो, तरपनि सरकारले जनदबाब थेग्न सकेन र २८ जुनमा विवादित कानुन फिर्ता लिन बाध्य भयो । जनवरी २०२५ मा एक ब्लगरको पुलिस हिरासतमा भएको मृत्युपछि आन्दोलन फेरि सुरु भयो । ९ जुन २०२५ मा सुरु भएको दोस्रो चरणको आन्दोलनले पनि ठूलो दबाब सिर्जना गरेको छ ।

त्यस्तै प्रधानमन्त्रीको परिवारमा भएको भ्रष्टाचार र अत्याधिक खर्चविरुद्ध मंगोलियाका विद्यार्थी र युवाहरूले मार्च २०२५ मा आन्दोलन सुरु गरे । सामाजिक सञ्जालमार्फत चलाइएको यस अभियानले हजारौं मानिसको समर्थन पायो । यसको फलस्वरूप ३ जुन, २०२५ मा संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित ग¥यो । उनले राजीनामा दिनुप¥यो र सरकारमा परिवर्तन भयो ।यी दुई घटनाले जेन जीको आन्दोलनले तत्काल र ठोस नतिजा दिन सक्छ भन्ने प्रमाणित गरेका छन् ।

संघर्ष जारी रहेका आन्दोलनहरू

सर्बियामा भ्रष्टाचारविरुद्ध युवाहरूले १६ मिनेटको मौन धर्ना, साइकल ¥याली र सडक अवरोधजस्ता शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका छन् । करिब एक वर्षसम्म चलेको यो आन्दोलनले सरकारमाथि ठूलो दबाब सिर्जना गरेको छ । सैन्य शासनविरुद्ध लोकतन्त्र पुनःस्थापनाको माग गर्दै मालिमा युवाहरूले डिजिटल र सडक प्रदर्शन गरिरहेका छन् । यद्यपि, सैन्य सरकारले दमनलाई कडा बनाए पनि यो आन्दोलनले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ ।

स्लोभाकियामा प्रधानमन्त्री रोबर्ट फिकोको रसिया–समर्थित नीतिहरूविरुद्ध भएको आन्दोलनले ठूलो जनसमर्थन पाए पनि सरकारले त्यसलाई दबाउन सफल भएको छ । यी आन्दोलनहरूले जेन जीको शक्ति विश्वभर फैलिएको देखाउँछन्, तर सफलताको लागि संघर्ष भने जारी छ ।

दक्षिण र दक्षिणपूर्व एसिया : युवा शक्तिको केन्द्र

दक्षिण र दक्षिणपूर्व एसियाका देशहरूमा जेन जीको आन्दोलनले विशेष रूपमा प्रभावशाली नतिजाहरू देखाएको छ । यहाँका युवाहरू अब केवल उत्पादन शक्ति मात्र नभई राजनीतिक र सामाजिक परिवर्तनका मुख्य शक्ति बनेका छन् । 

भदौ २३ र २४ गते काठमाडौंका सडकहरूमा जेन जीले गरेको प्रदर्शन एउटा दुर्लभ र ऐतिहासिक घटना थियो । सामाजिक सञ्जालमा नेताका विलासी जीवन र भ्रष्टाचारका प्रमाणहरू उजागर भएपछि युवाहरूले हाम्रो कर कहाँ गइरहेको छ ? भन्ने प्रश्न उठाउँदै सडकमा उत्रिए । दुई दिनको हिंस्रक प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन बाध्य भए । 

सन् २०२२ मा श्रीलंकामा आर्थिक सङ्कट र भ्रष्टाचारको विरोधमा हजारौं युवा प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोड्न बाध्य भए । यो घटनाले जेन जीको विद्रोहले पुराना र स्थापित नेतृत्वलाई पनि चुनौती दिन सक्छ भन्ने देखायो ।

त्यस्तै सन् २०२४ मा बंगलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरूले नयाँ रोजगार कोटा प्रणालीविरुद्ध गरेको प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना भारत भाग्न बाध्य भइन् । यसपछि विद्यार्थीहरूले नेसनल सिटिजन पार्टी नामक नयाँ राजनीतिक शक्ति स्थापना गरे । त्यसपछि नेपाल पनि बंगलादेश बन्न सक्ने टिप्पणी हुन्थ्यो । 
गत महिना इन्डोनेसियामा सांसदहरूको विलासितापूर्ण भत्ता र आर्थिक असमानताविरुद्ध सुरु भएको आन्दोलनले देशभरि हिंसात्मक रूप लियो । यसको नतिजास्वरूप राष्ट्रपति प्रबोवो सुबियान्तोले सांसदका विशेष सुविधाहरू रद्द गर्न र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाध्य भए । 

भारी वर्षा र बाढीले संकटग्रस्त अवस्थामा पनि भ्रष्टाचार र ‘नेपो बेबी’ हरूको विलासी जीवनशैलीले फिलिपिन्सका युवामा आक्रोश बढायो । यसको विरोधमा भएका प्रदर्शनपछि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर सार्वजनिक खर्च र परियोजनाहरूको समीक्षा गर्न बाध्य भए । पेरुमा पनि भ्रष्टाचार र पेनसनको नयाँ कानून विरुद्ध आन्दोलन जारी छ । 

संगठित अपराध र जबरजस्ती चन्दा असुलीको लहरले पेरुमा महिनौंदेखि अशान्ति मच्चिरहेको छ । धेरैले अनिश्चित काम गर्ने वातावरणको सामना गर्नु परे पनि व्यवस्थापिकाले युवा वयस्कहरूलाई निजी पेन्सन कोषमा सामेल हुन आवश्यक पर्ने कानून पारित गरेपछि विरोध प्रदर्शनहरू तीव्र भैरहेको छ । 

यी सबै घटनाहरूमा युवाहरूको असन्तोष, पुरानो र भ्रष्ट नेतृत्व, उच्च बेरोजगारी, अवसरको अभाव र सामाजिक सञ्जालको प्रभाव साझा कारकका रूपमा देखिएका छन् ।

एक नयाँ राजनीतिक परिदृष्यको उदय

नेपालमा भएको आन्दोलन एक दुर्लभ र शक्तिशाली घटना थियो । दुई दिनमै सत्ता परिवर्तन भएको यो उदाहरण विश्वकै लागि एउटा पाठ हो । जेन जी अब केवल डिजिटल नागरिक मात्र छैनन् उनीहरू डिजिटल क्रान्तिकारी पनि हुन् । 

उनीहरूले राजनीतिलाई आफ्नो हातमा लिँदैछन् र परम्परागत राजनीतिक शक्तिहरूलाई ‘जवाफदेही’ बनाउँदैछन् । भविष्यमा जेन जीका आन्दोलनहरूले विश्वव्यापी राजनीतिलाई कसरी आकार दिनेछन्, त्यो हेर्न बाँकी नै  छ । तर, यदि पुराना नेताहरूले यो नयाँ पुस्ताको आवाजलाई सुनेनन् र उनीहरूको मागलाई सम्बोधन गरेनन् भने उनीहरूको सत्ता डिजिटल युगको आँधीमा उडेर जाने सम्भावना छ । विश्व अब पुरानो पुस्ता र नयाँ पुस्ताबीचको शक्ति संघर्षको साक्षी बन्दैछ । र, यो संघर्षको नतिजाले नै भविष्यको दिशा तय गर्नेछ । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update