News 24 Television
ओली–प्रचण्ड जुहारीः कार्कीलाई ‘अ’सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि झनै आक्रोशित बन्दै आवेगपूर्ण अभिब्यक्ति दिँदै आएका छन् । विगतका कमजोरी अस्वीकार गर्दै आएका ओलीले आफू फेरि पनि प्रधानमन्त्री बन्ने अवस्था आउनेसमेत चेतावनी दिए । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध आक्रामक बनिरहेका ओली आइतबार सम्पदकहरुसँगको संवादमा माओवादी अध्यक्ष प्रचण्डको पनि आलोचना गरे । कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले नै सिफारिस गरेको भनी प्रचण्डले झुठो प्रचार गर्दै हिँडेकोसमेत ओलीले दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक साताअघि सम्पादकहरुसँगको छलफलमा कामचलाउ सरकारको हैसियतमा एमाले अध्यक्ष ओलीले नै सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि लिखित सिफारिस गरेको बताएका थिए । 

उक्त सिफारिस पत्रको विवरण आफूले बढेको प्रचण्डको भनाइ थियो । तर आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डले आफूविरुद्ध झुठो प्रचार गरेको दाबी गरे । जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक संवादमा उपस्थित भएका ओलीले आफूले सिफारिस गरेको उक्त पत्र सार्वजनिक गर्न प्रचण्डलाई चुनौति दिए । 

उनले आफुले लेखेको पत्रमा वर्तमान असहज र असाधारण अवस्थामा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने भएकाले यसको समाधान संविधान र लोकतान्त्रिक प्रणाली र प्रक्रियाभित्र खोज्नका राष्ट्रपतिलाई आग्रह गरेको बताए । राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाट अहिलेको परिस्थतिमा उपयुक्त कदम चाल्न भनी लेखेको दाबी ओलीको छ । 

संविधानसम्मत कदम चाल्नु भनी आफूले आग्रह गरे पनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नभनेको ओलीको भनाई छ । उनले  सुशिला कार्की नेतृत्वको सरकार संविधान संम्मत नभएको तर्क गरेका छन् । कार्की नेतृत्वको अन्तरिम सरकार नै असंवैधानिक भनेका ओलीले आगामी फागुनमा निर्वाचन पनि नहुने बताएका छन् । 

सम्पादकहरुसँगको संवादमा ओलीले भदौ २२ गतेको आफ्नो भूमिका पनि स्मरण गराए । उनले २२ गते राति बसेको सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले अप्ठ्यारो स्थितीको सिर्जना नहुने रिपोर्टीङ्ग गरेको बताए । तर भदौ २३ गते गोली चलेपछि मात्रै आफुले जानाकारी पाएको ओलीको दाबी छ । सुरक्षा निकायमाथि नै प्रश्न उठाएका ओलील्े सेनाले आफूलाई सञ्चार सुविधा समेत नदिएको बताएका छन् । 

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री ओलीलाई राहदानी रोक्का गर्दै काठमाडौं उपत्यका छाड्न पनि आयोगको अनुमति लिनुपर्ने निर्णय गरेको छ । आयोगको यस्तो आदेशप्रति ओली रुष्ट छन् । सरकारको कुनै पनि आदेश नमान्ने चेतावनी दिएका ओलीले आफूलाई थुन्न खोपीभित्रका विभिन्न आदेश आएको भन्दै बालेनतर्फ इंगित गरेका थिए । 

उनले आफूमाथि छानबिन गर्न राज्यका निकायहरुलाई मात्र चेतावनी दिएनन्, सम्पादकहरुलाई समेत घुराउरो रुपमा ब्यङग्य गरे । अझ एक कदम अघि बढेर ओलीले आफू नै आगामी दिनमा प्रधानमन्त्री बन्नेसमेत संकेत गरेका छन् । आगामी दिनमा सम्पादकीय नै लेख्नुपर्ने अवस्था आउने उनको भनाई थियो । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कदमले चिढिएका ओलि यो सरकारले बनाउने छानबिन समिति देखि कुनै पनि मुद्धामा आफ्नो कुनै सहमती नहुने चेतावनी दिएका छन् । 

यसअघि निर्वाचनमै नजाने बताएका ओलीले सम्पादकहरुसँग भने उक्त अभिब्यक्तिलाई सच्याएका छन् । आफू निर्वाचनमा जान डराएको नभई निर्वाचन नै हुन नसक्ने बताएको कुरालाई उल्टो अर्थ लगाइएको ओलीको भनाई थियो । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले अध्यक्ष ओलीको पछिल्लो अभिब्यक्ति र सरकारसँगको टसलले मुलुक थप संकटतर्फ धकेलिने देखिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update