News 24 Television
सर्वपक्षीय सरकारको खोजीमा विप्लव–वैद्य

काठमाडौं । जेनजी आन्दोलनपछि पछिल्लो परिस्थितिका विषयमा विभिन्न राजनीतिक दलहरु आन्तरिक छलफलमै छन् । विघटित प्रतिनिधिसभामा प्रतिनित्व गरेका राजनीतिक दलहरु मात्र होइन, संसद बाहिर रहेका दलहरु पनि छलफल÷बहसमा छन् । तत्कालिन सशस्त्र संघर्षबाट आएको नेकपा माओवादी केन्द्रले निर्वाचनको स्वागत गरिरहँदा माओवादीबाटै अलग भएका नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य समूहले भने अन्तरिम सरकारकै सन्दर्भमा फरक मत राखेका छन् । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेलगत्तै निर्वाचन आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ताको आह्वान गरेको छ । नयाँ दलहरु खोल्ने क्रम जारी रहेको छ । 

विघटित प्रतिनिधिसभाका ठूला राजनीतिक दलहरु पनि निर्वाचनको अन्योलमै छन् । राजनीतिक दलहरु पछिल्लो परिस्थितिको समीक्षा गर्दै पुर्नगठन र रुपान्तरणको प्रयासमै छन् । नेकपा एमाले र माओवादी केन्द्रले महाधिवेशनमा जाने निर्णय गरिसकेका छन् भने नेपाली कांग्रेस महाधिवेशनकै बहसमा केन्द्रित छ । 

आगामी मंसिर २७ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको एमाले आगामी निर्वाचन हुनै नसक्ने बताइरहेको छ । यता संसद बाहिर रहेका नेत्रविक्रम चन्द्र विप्लव र मोहन वैद्य लगायतका दलहरु पनि वर्तमान अन्तरिक सरकारको विकल्प खोजी गर्नुपर्ने बताएका छन् ।

विप्लव नेतृत्वको हालै कपिलवस्तुमा सम्पन्न भएको केन्द्रीय समिति बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको विप्लवको आरोप छ । अहिलेको सरकारले मुलुकको निकास नभई संकटतर्फ धकेल्ने विप्लवको निश्कर्ष छ । 

सुशीला नेतृत्वको सरकारप्रति वैद्य समूहको पनि अस्वीकार्य 

विप्लव नेतृत्वको नेकपाले मात्र होइन, मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि कार्की नेतृत्वको सरकार अस्वीकार गर्ने निर्णय गरेको छ । शनिबार राती सम्पन्न भएको वैद्यको पार्टीको केन्द्रीय समिति बैठक जेनजी आन्दोलनको विश्लेषण गरी मुलुकमा झनै संकट बढेर गएको निश्कर्ष निकालेको छ । 

क्रान्तिकारी कम्युनिस्ट पार्टीले राष्ट्रियता रक्षाका लागि आन्दोलनमा जाने निर्णय गरेको छ । साथै कार्की नेतृत्वको अन्तरिम सरकारलाई हटाएर देशभक्त क्रान्तिकारीहरुको सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ । 

वैठकले पार्टी महासचिव वैद्यले दिएको राजीनामा स्वीकृत गरी सीपी गजुरेललाई पार्टी महासचिवको जिम्मेवारी सुम्पिएको छ । २०८१ मंसिरमा तीन वटा पार्टीको एकता महाधिवेशनबाट पुनः महासचिवमा निर्वाचित भएका वैद्यको स्वास्थ्य अवस्था जटिल भएपछि १० महिनाअघि गजुरेललाई कार्यबाहक महासचिवको जिम्मेवारी सुम्पिएका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update