News 24 Television
कांग्रेस भित्रभित्रै निर्वाचनको तयारीमा

काठमाडौं । अहिलेसम्म १५ नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका ती दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको आयोगले जनाएको छ । 

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गरेसँगै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा अहिलेसम्म १५ वटा नयाँ दल दर्ताको निवेदन परेको छ । नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका ती दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको आयोगले जनाएको छ । 

आयोगका अनुसार १० वटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनु अघि नै दर्ताका लागि निवेदन दिएका थिए । आयोगमा निवेदन दिए पनि ती दलहरु आयोगले दर्ता भने गरेको छैन । ती सबैको कागजात अध्ययनको काम भइरहेको आयोगले जनाएको छ । 

जेनजी आन्दोलनपछि जेनजी पुस्ताले समेत राजनीतिमा सक्रियता देखाउँदै दल दर्ता प्रक्रिया अघि बढाएका छन् । यसअघि आयोगमा एक सय २२ दल दर्ता भएकामा दुई दल विभाजन भई १ सय २४ पुगेको छ । ती मध्ये कतिपय दलहरु एकताको प्रक्रियामा छन् । कतिपयले एकता घोषणापछि पनि पुरानै दल दर्तालाई पनि कायमै राखेका छन् । 

निर्वाचनका लागि साढे ७ अर्ब खर्च हुने 

आगामी फागुन २१ को निर्वाचनका लागि साढे ७ अर्ब भन्दा बढी खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि आयोगले साढे ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ । दलहरुसँग छलफल अन्तरक्रियासहित निर्वाचन व्यवस्थापनका लागि नयाँ खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च समेत जोडेर बजेट तयार पारिएको हो । 

कांग्रेस भित्रभित्रै निर्वाचन तयारीमा 

पार्टी महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने केन्द्रीय कार्य समिति बैठकमा छलफल कायमै रहेको कांग्रेसले िभत्रभित्रै निर्वाचनको तयारी थालेको छ । आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेसले देशभरका पार्टीका निकायलाई परिपत्र गरेको छ । 

मतदाता नामवली दर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै पार्टी निकायहरुलाई परिपत्र गरेको हो । पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले हस्ताक्षर गरेको परिपत्रमा कार्तिक ३० गतेभित्रै सबै योग्य नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन पहल गर्न निर्देशन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update