News 24 Television
गृहमन्त्री र नेताहरुका बोली, माहोल सपार्नेभन्दा बिगार्ने जस्तो !

काठमाडौं । सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न अपिल गरेको छ । शनिबार गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विभिन्न समूहले घुसपैठ गरी अराजकता निम्त्याउन सक्ने गृहको आशंका छ । शनिबार बसेको सुरक्षा समिति बैठकमा पनि मुलुकमा बढ्दो सुरक्षा चुनौती बढ्दै गएको बिश्लेषण भएको छ ।

सरकार, राजनीतिक दल र जेनजी अगुवाहरुको मतभेदका कारण मुलुक थप संकटतर्फ जान सक्ने बाटोमा छ । मुलुकभित्र अराजकता निम्त्याउँदा त्यसले जनताले सास्ती मात्रै खेप्नु पर्ने भन्दै आम नागरिक तथा प्रवुद्ध वर्गले यतिबेला शान्तिको कामना गरिरहेका छन् । दलहरुले पनि अहिले मुलुक भित्र शान्ति सुरक्षा कायम राख्न वार्ताको माध्यमबाटै अघि बढ्नु पर्ने सुझाव नागरिक समाजका अगुवाहरुले दिएका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकमा आगामी दिनमा अझै सुरक्षा चुनौती बढ्न सक्ने सरकारको आंकलन छ । निर्वाचनको मिति तय भईसकेपनि दलहरुले निर्वाचनको वातावरण नबनेको भन्दै सरकार माथि दबाब बढाई रहेका छन् भने जेनजी समूहहरुले पनि आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरीरहेका छन् । 

यता जनमत भने मुलुकमा शान्ति स्थापना गरेर अघि बढ्नु पर्ने छ । कुनै पनि आन्दोलन वा क्रान्तिका नाममा नागरिककले दुःख पाउन नहुने धारणा उनीहरुले राखिरहेका छन् ।

नागरिक समुहका अगुवाहरुले सरकार, दल र जेनजी आन्दोलनका अगुवाहरु सहित मुलुक भित्र रहेका सबै शक्तिहरु एकै ठाउँमा आई तत्काल संवाद अगाडी बढाएर मुलुकलाई संकटबाट बाहिर ल्याउनु पर्ने सुझाव दिएका छन् । सरकारले समेत देशभित्र सुरक्षा चुनौति बढ्दै गएको बिश्लेषण गर्दै आन्दोलनअघि सरकारसँग वार्ता गर्न आग्रह गरेको छ ।  

सरकारले वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नु पर्ने बताएपनि दल, जेनजी अभियान्ता र अभियान्ताहरु भने आफ्नो मागहरुको सुनाइ नभए आन्दोलन चर्काे बनाउने चेतावनी दिइरहेका छन् । उनीहरुको पछिल्ला अभिब्यक्तिहरु मुलुकमा थप द्वन्द्व चर्काउने किशिमको छ ।  

मुलुकमा शान्ति सुरक्षा खलबल बनाउने गरी दल र अभियान्ताहरुले कुनै पनि अभिब्यक्ति दिन नहुने नागरिक समाजका अगुवाहरु बताउँछन् । मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिमा गम्भिर बन्दै संवादका माध्यमबाट समस्या समाधान गर्नु पर्ने उनीहरुको भनाइ छ ।  

जेनजी आन्दोलन भ्रष्ट्राचारको अन्त्य, सुशासन, स्थायित्व र परिर्वतनका लागि भएको थियो तर आन्दोलनमा घुसपैठ हुँदा त्यसले मुलुकले ठूलो क्षति व्यहोर्नु परेको छ । माग सम्बोधन नभए आन्दोलन चर्काउने घोषणा गरेका दल हुन् वा अभियान्ताहरु, सबैले आफुहरुले गर्ने आन्दोलनमा पनि घुसपैठ हुन सक्ने बिषयमा चनाखो बन्नुपर्छ । 

त्यसैले पनि आन्दोलनमा हुन सक्ने घुसपैठ रोक्न र मुलुकमा शान्ति स्थापना गर्नका लागि भएपनि सडक आन्दोलन भन्दा वार्ता नै रोज्नु बुद्धिमतापूर्ण हुने छ । शान्तिपूर्ण धर्ना र प्रदर्शनलाई सरकारले पनि गम्भिररुपमा लिनुपर्छ । तर हामीकहाँ शान्तिपूर्ण र रचनात्मक आन्दोलनलाई वास्तै नगर्ने परिपाटी छ । यसले शान्तिपूर्ण आन्दोलनको वातावरण विगारिरहेको छ भने तोडफोड र आगजनीको शैली मौलाइदै गइरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update