News 24 Television
कहिले सकिन्छ सिंहदरबारभित्रको नयाँ संसद भवन निर्माण ?

काठमाडौं । पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनपछि काठमाडौंका नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर सञ्चालन गरिँदै आएको संसद भवन भदौ २४ को जेनजी आन्दोलनले ध्वस्त बनायो । सिंहदरबार भित्र नयाँ बन्दै गरेको संसद भवनको निर्माण कार्य पूरा भएकै छैन । यो अवस्थामा आगामी फागुुनको निर्वाचनपछिको संसद बैठक बस्ने अन्योल छ । 

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको विद्रोहले नयाँ बानेश्वरमा रहेको संसद भवन ध्वस्त भयो । ६४ सालको संविधानसभाको निर्वाचनपछि ६ सय १ जना सांसदहरुका लागि ब्यवस्था गरिएको त्यही भवनबाटै त्यसयताका सञ्चालन हुँदै आएको थियो । 

अबको संसद बैठक उक्त भवनबाट सञ्चालन गर्ने सम्भावना छैन । त्यसैले नयाँ भवनको विकल्प देखिदैन । तर सिंहदरबार भित्रै ६ वर्षअघिदेखि थालिएको नयाँ संसद भवनको निर्माणको काम पनि अधुरै छ ।  २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रूपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन निर्माण तीन वर्षभित्र सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

तीन वर्षमा सक्ने भनिएको यो भवनको चार पटक म्याद थप भइसकेको छ । तर अहिलेसम्म ८६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसैले आगामी संसद सञ्चालनको लागि नयाँ भवन निर्माण सम्पन्न गर्नेपर्ने बाध्यता भएपछि वर्तमान अन्तरिम सरकारका सहरी विकास एवम् ऊर्जामन्त्री कुलमान घिसिङले ठेकेदार कम्पनीलाई दबाब बढाएका छन् । आगामी पुस १६ गतेसम्म सबै काम सकाउने कम्पनीले दाबी गरे पनि निर्माण सम्पन्न हुनेमा मन्त्री घिसिङ नै विश्वस्त छैनन् । त्यसैले दुई दिनभित्रै हरेक दिनको सेड्युल बनाएर पेश गर्न मन्त्री घिसिङले निर्देशन दिएका छन् । 

मन्त्री घिसिङले निर्माणाधिन संसद भवनको शनिवार निरीक्षण गरेका थिए । पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा पनि फागुन २१ पछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । समयमै काम सम्पन्न नभए कारबाहीस्वरूप जरिवाना तिराउने मन्त्री घिसिङ ठेकेदार कम्पनीलाई चेतावनी नै दिएका छन् । 

नयाँ संसदका लागि नयाँ भवन जरुरी 

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी ओलीले पनि यसअघि निर्माणाधिन नयाँ संसद भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन दिएका थिए । ७९ सालको निर्वाचनपछि गठन हुने संसदको पहिलो अधिवेशन नै नयाँ भवनबाट सञ्चालन गर्ने योजना तत्कालिन सरकारको थियो । सम्भव भएन ।

त्यसपछिको हिउँदे अधिवेशन नयाँ भवनमा बोलाउने भनिएको थियो । त्यो पनि सम्भव नभएपछि आगामी ८४ सालको निर्वाचनपछिको संसद बैठक नयाँ भवनबाट सञ्चालन गर्ने उद्देश्य तत्कालिन सरकारको थियो । 

नेपालको संसद् भवन उद्घाटन भएको १५ महिनापछि २०७७ मंसिर २५ मा भारतको सङ्घीय सदन भवन शिलान्यास भएको थियो । भारतीय नवनिर्मित संसद् भवन सञ्चालनमा आएको पनि २ वर्ष पूरा भइसकेको छ । तर नेपालको संसद भवन निर्माणको काम गति भने कछुवाको छ । अब भने फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनपछिको अधिवेशनको नयाँ ठाउँमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । 

निर्वाचनअघि नै बस्ने राष्ट्रियसभाको बैठक सञ्चालन गर्न नै समस्या भइसकेको छ । त्यसैले अहिले पाँचौ पटक थपिएको समयभित्रै निर्माण सम्पन्न हुन्छ वा फेरि पनि अरु भवन भाडामा सञ्चालन गर्नुपर्ने हो प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update