काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरुले दल दर्ताको निवेदन दिएका हुन् ।
नेताहरुले पार्टीको नाम 'कम्युनिस्ट पार्टी नेपाल' राख्न प्रश्ताव गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताए ।
उनले नेपालको उन्नति र प्रगतिका साथै मुलुकमा रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्न नेकपाले निर्वाचनमा सहभागी हुने कुराले विषेश स्थान राख्ने दाबी पनि गरे । उनले अहिले अवस्थामा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाए ।
उनले भने, ‘हामीले आज निर्वाचन आयोगमा जसरी पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौं यसले मुलुकमा विद्यमान समस्या समाधानको निम्ति र नेपाली जनताको चाहाना तथा मुलुकका अगाडि रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले लिएको यो स्टेप र निर्वाचन प्रक्रियामा सहभागि हुने कुराले विशेष स्थान राख्नेछ । र ऐतिहासिक हुनेछ । अहिलेको अवस्थामा निर्वाचन आयोग आफैंले पनि अहिलेको अवस्थामा निर्वाचन सम्पन्न गर्ने कुरा चुनौतीपूर्ण ठानेको छ । यसकारण तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि पार्टीको तर्फबाट पुर्ण रुपमा सहयोग हुनेछ । पार्टीले कुनैपनि कसर नरहनेगरी निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा मद्दत हुनेछ भन्ने विश्वास पनि दिलाउन चाहान्छौं ।’
जनताको मुक्ति र मुलुकको समृद्धिको लागि नेकपा लामो समयदेखि क्रियाशील रहेको स्मरण गर्दै उनले नेपालको संसदीय राजनीतिमार्फत मुलुकको विकासका लागि पार्टी सधैं क्रियाशील रहिरहने समेत बताए ।
