News 24 Television
लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि  आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिबद्ध रहेको पनि बताए ।

मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको भन्दै उनले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागी नहुने दलहरु लक्ष्मणरेखाभन्दा बाहिर रहने पनि टिप्पणी गरे । उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गरे । 

भण्डारीले भने, ‘हामीसँग अहिले आएको दाियत्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौं । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने  पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ  यहाँहरुलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु ।’ 

उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबैमा आग्रह समेत गरे । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update