News 24 Television
गृहमन्त्री अर्याल फाल्न ‘बालेन टिम’ परिचालन, सामाजिक सञ्जालमा ट्रेन्ड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको गृहमन्त्री पद संकटमा त पर्दैन ? शंकाहरु उब्जिएका छन् । अन्तरिम सरकार निर्माणमा निर्णायक भनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले अर्याललाई राजीनामा वा पदबाट हटाउन दबाब दिन थालेपछि यो विषयमा चासो बढेको छ । तर, प्रधानमन्त्री सुशीला कार्कीले के गर्छिन् भन्ने विषय पनि चासोका साथ हेरिएको छ । 
सामाजिक सञ्जालमा पछिल्लो समय देखिने समाचार, सूचना र व्यक्तिगत टिप्पणीहरुमा बाक्लो उपस्थिति देखिन्छ, गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट राजीनामा दिन लगाउने वा पदबाट हटाउने गरि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दबाब दिन थालेका छन् । 

यतिमात्रै नभएर उनी निकटका केहि फेसबुक पेज तथा ग्रुप सञ्चालनकर्ताहरुले समेत ट्रेन्ड चलाएर हटाउने प्रयास थालेका छन् । के मन्त्री बनाउने र हटाउने काम सामाजिक सञ्जालमै ट्रेन्ड वा ह्यासट्याग चलाएर गर्ने थिति बसाल्ने प्रयासलाई वैधानिकता दिन खोजिएको हो ? प्रश्न र शंका चलिरहेको बेला गृहमन्त्री अर्यालको पदमा भने प्रश्न र शंकाहरु उब्जिन पुगेका छन् ।

गृहमन्त्रीविरुद्ध बालेन किन ?

गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार रहिसकेका व्यक्ति हुन् । यसरी हेर्दा अर्याल बालेनको निकट रहेको स्वभाविक दाबी चलिरहे । यतिमात्रै नभई बालेनले नै अर्याललाई गृहमन्त्री सिफारिस गरेको समेत चर्चा चल्यो । तर, वास्तविकता भने अर्कै रहेको दाबीहरु आउन थालेका छन् । 

जसमा बालेन र अर्यालबीच केहिसमय पहिले नै सम्बन्धमा दरार आइसकेको थियो । उनीहरुबीच खास सम्वादको स्थिति पनि थिएन । यस्तोमा बालेनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे वा पूर्वप्रहरी मिरा चौधरीलाई गृहमन्त्री बनाउन खोजेका थिए । 

यो सम्भव नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले नै रोजेका अर्याल गृहमन्त्री बन्न पुगेका हुन् । जेनजी आन्दोलनपछि सरकार निर्माणको क्रममा समेत राष्ट्रपति, नेपाली सेनाजस्ता निकायसंगको सम्बादमा रहेका अर्याललाई कार्कीले नै अघि सारेको दाबी गर्ने गरिन्छ । 

यस्तो स्थितिमा जसोतसो सहमत भएका बालेनले तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिहाल्ने चाहनामा बालेनले सरकारलाई दिएको दबाबले काम गर्न नसकेपछि गृहमन्त्री अर्यालको उपादेयता सकिएको ठानेर बालेनले हटाउने प्रयास थालेका हुन् । 

ओली र लेखकलाई मात्रै नभई दुर्गा प्रसाईदेखि अन्य केहि पात्रलाई समेत पक्राउ गर्नुपर्ने माग राख्दै आएका बालेनको कुरा सरकारले कानूनका धारा पल्टाउन थालेपछि उनी फायर बनेका हुन् । यो विवाद अब सामाजिक सञ्जालमा ट्रेन्डको रुपमा समेत अघि बढेको छ ।

सामाजिक सञ्जालमा गुप्त ट्रेन्ड

सामाजिक सञ्जालमा पछिल्लो समय गृहमन्त्री अर्याललाई हटाउनका लागि ट्रेन्ड चलाउने प्रयास चलिरहेको छ । गृहमन्त्रीविरुद्ध ट्रेन्ड चलाएर उनलाई राजीनामा दिन बाध्य पार्ने वा प्रधानमन्त्री सुशीला कार्कीलाई लगाएर हटाउन लगाउने गरि बालेनको टिम सक्रिय बनेको छ । सामाजिक सञ्जालमा पेज, ग्रुप चलाउने समूहले आन्तरिक छलफल गरिरहेको र ट्रेन्ड चलाउने काम चल्न थालेको छ । ओली र लेखकलाई पक्राउ नगरेको निहु बनाएर अर्याललाई हटाउने प्रयास तीब्र बनेपछि बालेनको समेत आलोचना शुरु भएको छ । 

अभियन्ता ई ई ले समेत बालेनले गृहमन्त्री अर्याललाई हटाउन खोज्दा प्रधानमन्त्री कार्की नै नरहने स्थिति आउने दाबी गरेका छन् । पूर्वप्रधानन्यायाधीस कल्याण श्रेष्ठलाई जोड्दै ई ले बालेनमाथि समेत आरोप लगाएका छन् । यसरी सामाजिक सञ्जालबाटै सरकार निर्माण र विघटनका प्रयास जोडतोडले चल्न थालेपछि राजनीतिक–सामाजिक मनोविज्ञान भने त्रासमा पर्न थालेको छ ।

सामाजिक सञ्जाल नियमनको खाँचो

सामाजिक सञ्जाललाई नियमन गर्नैपर्ने अवस्था सिर्जना भएको छ । विभिन्न खाले सामाजिक सञ्जालमा ट्रेन्ड चलाउने, देशविरुद्धका षडयन्त्र हुनेदेखि विभिन्न आपराधिक गतिविधि समेत बढ्न थालेकाले समाज मिसइन्फरमेसन र डिसइन्फरमेसनको शिकार बन्ने खतरा बढ्दोक्रममा देखिन्छ । सुरक्षा निकायले समेत थेग्न कठिन हुने गरि प्रविधिको प्रयोग र दुरुपयोग हुन थालेपछि सामाजिक सञ्जालको नियमन र देशको आवश्यकता अनुसारको नीति अख्तियार गर्नुपर्ने बेला आइसकेको विश्लेषण समेत हुन थालेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update