काठमाडौं । २०६९ असारमा मोहन वैद्य नेतृत्वको समूह पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको मुल पार्टीबाट अलग भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ पनि बैद्यसँग रहेका थिए । तर वैद्यबाट पनि क्रान्ति नहुने भन्दै उनी वैद्यको पार्टी फुटाएर अलग पार्टी बनाएका थिए ।
वैद्यबाट छुट्टिएर भूमिगत राजनीति थालेका विप्लव पुनः शान्ति प्रक्रियामा फर्किए पनि संसदीय ब्यवस्थाको विरोधमै रहेका थिए । अहिले भने उनी दल दर्ता गरेर औपचारिक रुपमै संसदीय राजनीतिमा लाग्ने घोषणा गरेका छन् ।
माओवादी शान्ति प्रक्रियामा आएको ६ वर्षपछि माओवादी नेतृत्वकै सरकार रहेको बेलामा पार्टीको एउटा समूहले विद्रोह गरेको थियो । जसको नेतृत्व मोहन वैद्य किरणले गरेका थिए । २०६९ असारमा वैद्य नेतृत्वमा नेकपा ड्यास माओवादी गठन हुँदा नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल लगायतको ठूलो पंक्ति वैद्यसँगै रहेका थिए ।
माओवादी फुटाएर नयाँ पार्टी बनाएको २ वर्ष नपुग्दै वैद्यले पनि क्रान्ति नगर्ने भन्दै विप्लव अलग भएर, अनि हिंसात्मक आन्दोलन शुरु गरे । राष्ट्रवादी आन्दोलन भन्दै एनसेल लगायत संस्थाहरुमा आक्रमण गरि पार्टी भूमिगत बाटोमा अघि बढ्यो । दोस्रो संविधानसभाको निर्वाचनमा सशक्त बहिष्कार ग¥यो ।
विप्लवको उक्त आन्दोलनका क्रममा ११ जनाले ज्यान गुमाए । अन्ततः शान्ति प्रक्रियामा नै फर्किए । तर पनि संसदीय ब्यवस्थाको विरोध गर्दै आएका विप्लवले निर्वाचनमा भाग लिएनन् । विप्लव नेतृत्वको समूह पनि पटक पटक विभाजित भयो ।
विप्लवबाट अलग भएका धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली वैद्यसँग एकता गरे । धर्मेन्द्र वैद्यसँग पनि लामो समय टिक्न सकेनन् । र, अलग भए भने हेमन्त प्रकाश वैद्यसँग छन् ।
यता, प्रचण्डले धोका दिएको र वैद्यले पनि क्रान्ति नगर्ने भन्दै छुट्टै पार्टी बनाएका विप्लव अब भने संसदीय राजनीतिमा नै फर्किएका छन् । संसदीय राजनीतिमा आउने घोषणा गरेको विप्लव समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा निर्वाचन आयोग पुगेर मंगलबार दल दर्ताका लागि निवेदन दिएको हो ।
संसदीय ब्यवस्थाको विरोध गर्दै आएका विप्लवले यसअघि ७४ सालको स्थानीय तहको निर्वाचनमा भने पार्टी कार्यकर्तालाई स्वतन्त्र रुपमा निर्वाचनमा होमेको थियो । निर्वाचनमा भाग लिने सन्दर्भमा पार्टीभित्रै विवाद बढेपछि औपचारिक निर्णय नै नगरी विप्लवले कार्यकर्तालाई स्थानीय चुनावमा मैदानमा उतारेका थिए । तर परिणाम सून्य आयो ।
त्यसपछि संघ र प्रदेशको निर्वाचनमा पनि विप्लव समूहले भाग लिएन । पछिल्लो समय भने कपिलवस्तुमा बसेको बैठकले आगामी ८४ सालको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको थियो ।
त्यतिबेलासम्म माओवादी केन्द्र लगायतका दलहरुसँग एकतामा जाने तयारी गरिएको थियो । तर यहिबीचमा भदौ २३ र २४ को जेनजी आन्दोलनले परिस्थिति बदलियो । प्रचण्डसँगको एकता पनि टाढिँदै गयो । जसले गर्दा विप्लव दल दर्ता गरेरै औपचारिक रुपमा चुनावमा भाग लिने निर्णयमा पुग्यो ।
जेनजी आन्दोलनले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने सन्देशसंगै संविधान संसोधन गर्नुपर्ने सन्देश दिएकोले आगामी निर्वाचनमा सहभागी भई संसदबाटै आफुहरुले उठाएको एजेण्डाको स्थापीत गरिने तर्क प्रवक्ता विश्वकर्माको छ ।
वैद्यसँग अलग भएपछि पार्टीबाट माओवादी नाम हटाएर नेकपा राखेका थिए । एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा सक्दा पनि विप्लवले नेकपा नामकै पार्टीबाट गतिविधि गर्दै आएका थिए । देशभर नै संगठन विस्तार गरेको दाबी गरेका विप्लव अरु भन्दा फरक हुन खोजिरहेका देखिन्छन् । सबै पार्टीको केन्द्रीय कार्याय काठमााडैंमा हुँदा विप्लवले कपिलवस्तुमा पार्टीको भब्य केन्द्रीय कार्यालय बनाएका छन् ।
कपिलवस्तुमा नै कृषि उत्पादनहरु समेत गरेर चर्चा बटुलिरहेका विप्लवले हालै एउटा आफ्नै उद्योग खोल्ने निर्णय गरेका छन् । हिंसात्मक आन्दोलन छाडेर शान्तिपूर्ण आन्दोलनमा आएपछि उत्पादनमा बढी जोड दिने गरेका विप्लवले आफ्नो छुट्टै दल दर्ताका लागि निवेदन दिए पनि अन्य दलहरुसँगको एकताको ढोका भने खुल्लै राख्ने बताएका छन् ।
माओवादी संग मात्रै नभएर आफुहरुले कम्युनिष्ट बिचार धारका सबै राजनीतिक दलहरु संग पार्टी एकताको संवादमा नै रहेको विश्वकर्माको भनाई छ । निर्वाचनमा जाँदा पनि बिचार र सिद्धान्त मिल्ने र गणतन्त्रवादीदलहरुसंग तालमेल गरेर जाने गरी पार्टी दर्ता गरीएको उनको तर्क छ ।
अन्य दलसँगको एकताको बहस कायमै राख्ने बताए पनि विप्लव र प्रचण्डबीचको एकता प्रक्रिया भने हालका टाढिएको छ । त्यसैले प्रचण्ड लगायतका अन्य कम्युनिस्ट घटकका असन्तुष्ट नेता कार्यकर्तालाई आफूतिर तान्ने प्रयास भने विप्लव कायमै राख्ने छन् ।
अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबाट गतिविधि गर्दै आएका विप्लवले आयोगमा दर्ताका क्रममा भने ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरेका छन् । नेकपा नामको पार्टी लोक नारायण सुवेदीले यसअघि नै निर्वाचन आयोगमा दर्ता गएका कारण विप्लवले नाम परिवर्तन गरेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।
