News 24 Television
पर्खाइमै बसिरहेको मकवानपुरगढी दरबार, इतिहास मेटिने जोखिम

काठमाडौं । मकवानपुरको चिनारीको रूपमा रहेको मकवानपुरगढी दरबार अहिले दयनीय अवस्थामा छ । अझै भन्दा यो अलपत्र अवस्थामा नै पुगेको छ । नेपालको इतिहासको एक महत्वपूर्ण दस्तावेजका रुपमा समेत रहेको यो स्थल यस्तो दयनीय अवस्थमा कसरी पुुग्यो त ? के हो मकवानपुरगढीको ऐतिहासिक महत्व ? किन सरोकारवालाहरु दरबार संरक्षण नगरि मूकदर्शक मात्रै बनिरहेका छन् ? 

यो मकवानपुरको एक ऐतिहासिक चिनारी, मकवानपुरगढी दरबार क्षेत्र  हो । यो दरबारले नेपालको इतिहासको एक ऐतिहासिकता बोकेको छ । सामान्य रुपमा बुझ्दा मकवानपुरगढी दरबार केवल पत्थरको संरचनामात्र होइन, नेपालको गौरवशाली इतिहासको एउटा अमूल्य दस्तावेज हो ।

लगभग तीन सय वर्षसम्म सेन वंशका राजाहरूले यस दरबारलाई आफ्नो राजधानीको रूपमा प्रयोग गरे । यो दरबार नेपाली इतिहासमा राजनीतिक, सांस्कृतिक र सैनिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर अहिले जब कोही पर्यटक त्यहाँ पुग्छन्, उनीहरूले इतिहासभन्दा पहिले झाडी र घाँस देख्छन् ।

१३ औँ शताब्दीको शुरुतिर मुकुन्द सेनका छोरा लोहाङसेनबाट शुरु भएको मकवानपुरको शासनकाल अन्तिम राजा दिगबन्धन सेनसम्म आइपुग्दा मकवानपुरगढी करिव तीन शताब्दीसम्म शक्तिशाली गढीका रूपमा रह्यो । 

यो गढी नेपालको सबैभन्दा ठूलो गढीका रूपमा चिनिन्छ । जसले सेन वंशीय इतिहास बोकेको छ । तर अहिलेको अवस्था देख्दा लाग्छ—इतिहास र सम्पदा जोगाउनेतिर हाम्रो चासो झन् कमजोर बन्दै गएको छ ।

मकवानपुरगढी गाउँपालिकामा पर्ने यो स्थानमा अहिले पनि दिनहुँ सयौं आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गर्छन् । तर गढीभित्र प्रवेश गरेपछि आफूहरुले इतिहासको कथा भन्दा पहिले अग्ला घाँस र झाडीहरू देखेको काठमाडौंबाट आएका पर्यटक दिलबहादुर देउला गुनासो गर्छन् ।

गढीका संरचनाहरू झारपातले ढाकेको र पौराणिक महत्वका ठाउँहरू हेर्नै मुस्किल भएको दोलखा चरीकोटबाट आउनुभएका पर्यटक सोमबहादुर तामाङ बताउछन् ।

गढीमा वर्षमा जम्मा तीनपटक मात्र सरसफाई हुने गर्छ । त्यो पनि बजेट र जनशक्तिको अभावले सिमित भएको देखिन्छ ।

स्थलगत अवलोकनको क्रममा मकवानपुरगढीको अवस्था देख्दा लाग्छ—इतिहासले हामीलाई सुम्पेको यस्तो अमूल्य सम्पदा संरक्षणको चरम अभावमा छ । जताततै घाँस र झारहरूले ढाकिएका संरचना, कुराले भरिएका बाटाहरू, अनि हेर्दा हेर्दै ओझेलमा पर्दै गएको इतिहास । केही स्थान बाहेक अधिकांश भागहरूमा झारहरूले ढाकिएका छन् । यस्तो ठाउँमा पर्यटक आकर्षण त परै जाओस्, यहाँको महत्व बुझ्न पनि कठिन हुन्छ । खासमा मकवानपुरगढी केवल पर्यटकीय स्थल मात्र होइन, यो एक राष्ट्रिय गौरव हो । 

यहाँका ढुंगाहरूले इतिहास बोकेका छन् । हरेक पर्खालले एउटा कथा सुनाउँछ । तर यदि यस्तो गढी संरक्षणको अभावमै हराउँदै जाने हो भने, भोलिको पुस्ताले यसको केवल नाम मात्र सुन्ने अवस्था नआउला भन्न सकिँदैन । 

यो अवस्था सुधार्न स्थानीय तह, विशेष गरी मकवानपुरगढी गाउँपालिका, प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, र पुरातत्व विभाग सबैको जिम्मेवारी बराबरको छ । बजेटको बहानामा, जनशक्ति नपुग्ने भन्दै, वा स्थानीयको चासो नभएको भन्दै गढीलाई यसरी छाड्न मिल्दैन । पर्यटकको गुनासो केवल घाँसको बारेमा होइन, त्यो हाम्रो व्यवस्थापकीय असक्षमताप्रति पनि संकेत हो । त्यसैले इतिहास बचाउने, गढी संरक्षण गर्ने र यसलाई साँच्चिकै पर्यटकीय तथा शैक्षिक केन्द्र बनाउनु पर्ने आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update