काठमाडौं । नेपालका बैकल्पिक राजनीतिक शक्ति ध्रुविकरणको बहस सुरु भएको छ । जेनजीको बलमा भएको राजनीतिका उथलपुथलका विच बैकल्पिक शक्ति ध्रुविकरणको तयारी तीब्र भएको हो ।
जहाँ बालेन, रवि, गोपी, कुलमान र हर्क सहितका उनुहार मिलाउने तयारी भइरहेको छ । नेपालमा बैकल्पिक शक्तिको विउ छरेको विवेकशिल साझादेखि रास्वपाले त्यसको समन्वय गरिरहेका छन् । पुराना राजनीतिका दललाई ठेगान लगाउन बैकल्पिक शक्ति गोलवद्ध हुनुको विकल्प नरहेको भन्दै उनीहरु एकतावद्ध हुन कस्सिएका छन् ।
राष्ट्रिय राजनीतिमा जेनजी समर्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), रवि लामिछाने नेतृत्वको रास्वपा, अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपी हमाल, जेनजी प्रतिनिधि र विवेकशिल साझा सहितको मिलन विन्दु खोजिदैछ । त्यसका लागि हप्तौंदेखि विभिन्न ब्यक्ति तथा समूहहरुबीच छलफल र वार्ताहरु भइरहेका छन् । जेनजी आन्दोलनले ल्याएको बदलिँदो परिस्थितिमा बैकल्पिक शक्ति निर्माण गर्नुपर्ने भन्दै उनीहरु कस्सिएका हुन् ।
जेनजी आन्दोलनमा देखिएका केही कलाकारहरुले यो शक्तिहरुलाई एकताको पहलकद्मी गरिरहेका छन् । एक्लाएक्लै डिँडेर लक्ष्यमा पुग्न नसकिने भान गरेका शक्तिहरु वार्ता, छलफल र एकता मार्फत एक हुन खोजेका हुन् । आन्तरिक संवादलाई प्राथमिकतामा राखेका यी शक्तिले एकताको अन्तिम विन्दुमा पुगेको विश्लेषण गरिरहेका छन् ।
यसले बैकल्पिक शक्ति बन्ने उनीहरुको विश्वास छ । २०७९ मंसिर ४ मा भएको चुनावमा चमत्कारिक रुपमा उदाएको रास्वपाका नेताहरुले गहिरो संवाद र छलफल तीब्र पारेका छन् । जेनजीका माग र मुद्धा स्थापित गर्नेगरी जनेजी समुहलाई पनि साथमा लिएर नयाँ राजनीतिक धु्रबीकरणको तयारी स्वरुप थालिएको यो प्रयासमा रास्वपाका नेताहरु मात्रै होइन रास्वपा छाडेकी सुमना श्रेष्ठदेखि विवेशशिल साझाका नेता कार्यकर्ताहरु पनि सक्रिय छन् । रास्वपा वार्ता समितिका सदस्य पुकार बमका अनुसार रवि, बालेन, कुलमान र गोपी एक हुने तयारी ८० प्रतिशत सकिएको छ ।
उज्वल थापाले विवेकशिल पार्टी स्थापना गरेर नेपालमा बैकल्पिक शक्तिको विजारोपण गरेका थिए । विविसीको जागिर छाडेर एकाएक राजनीतिमा आएर पार्टी स्थापना गरेका रविन्द्र मिश्रले आफ्नो पार्टीलाई विवेकशीलमा मिसाएर विवेकशील साझा पार्टी बनाए ।
त्यहिबीचमा कोभिडका कारण उज्वलको निधनपछि मिश्रले पार्टीलाई अस्तब्यस्त बनाए । लथालिंग अवस्थामा पुगेको विवेकशीलका नेताहरु पनि अहिले नयाँ अवसरको खोजीमा छन् । टुटफुट र छिन्नभिन्नले गन्तब्यमा पुग्न नसकिने भन्दै विवेकशिलका नेता कार्यकर्ताहरुले उत्तम समयमा एकताको सुत्रमा बैकल्पिक शक्तिमा बाँधिन ढिला गर्न नहुने निष्कर्ष निकालेका छन् । सबै बैकल्पिक शक्तिहरु साझा फुलबारीमा आउनुपर्ने उनीहरुको निष्कर्ष छ ।
उसो त बैकल्पिक शक्ति एकताको प्रयासमा लागेका नेताहरुले बालेन, रवि, कुलमान, गोपी र जेनजी विचको एकतामा कुनै दुविधा नभएपनि धरानका मेयर हर्क सामपाङ भने आफ्नै ढंगले अघि बढेको भान गरिरहेका छन् । यद्यपी उनलाई पनि एकट्ठा गरेरै छाड्ने उनीहरुको तयारी छ । धरानका मेयर हर्कले ‘श्रम संस्कृती’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । हर्कले जेनजी आन्दोलनपछिको अवस्थालाई भूराजनीतिक खेलको रुपमा सार्वजनिक रुपमै आरोप लगाएका छन् ।
जेनजीबाट मिराज ढुंगाना समूहले पनि पार्टी खोल्ने घोषणा गरिसकेको छ । दिनेश प्रसाईँ नेतृत्वमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत लगायतले गतिशिल लोकतान्त्रिक पार्टी स्थापना गरेका छन् । बस्नेतको समूह पनि यी विभिन्न समूहसँग विभिन्न चरणमा छलफलमा सहभागी भएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितका बाबजुद नेसपा (नयाँशक्ति)बाट बाबुराम भट्टराईले राजीनामा दिएसँगै उक्त पार्टीका झण्डै एक दर्जन केन्द्रीय नेताहरुले पनि राजीनामा दिएका थिए । बाबुरामको पार्टी छोडेको घोषणा गरेको समूह पनि वैकल्पिक शक्ति निर्माणको पहल स्वरुप यो समूहसँग वार्ता, संवादमै रहेका छन् ।
विभिन्न समूहबीचको संवादपछि यो साताभित्रै वैकल्पिक शक्ति घोषणा गर्ने तयारी गरिएको छ । पुराना राजनीतिक दलको एकछत्र राज तोड्न बैकल्पिक शक्तिको अपरिहार्य सबै समुहले गरेका छन् । तर अहिले नै सबै समूह एक हुनेमा आशंका कायमै छ । यी सबैलाई एक ठाउँमा उभ्याउन लागि पनि विभिन्न शक्ति केन्द्रहरु कसरी लाग्छन्, त्यसमा निर्भर रहने छ ।
