News 24 Television
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी

कैलाली । दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भारतमा काम गर्न जाने नेपालीहरुको लर्को देखिएको छ । दैनिक गुजारा चलाउन प्राय सुदूरपश्चिवासी भारतमा काम गर्न जाने   गर्दछन् ।

दशैंतिहार जस्ता महान चाडपर्व मनाएसँगै सुदूरपश्चिमेलीहरु रोजगारीका लागि पुनः भारत फर्किन थालेका छन् । दैनिक गुजाराका लागि प्राय सुदूरपश्चिमवासी काम खोज्दै भारत जाने गर्दछन् । रोजगारीका लागि भारतमा काम गर्न गएका सुदूरपश्चिमेलीहरु असोज अन्तिम साता दसैंतिहार मनाउन घर फर्किएका थिए ।  

गाउँमा प्रशस्त रोजगारीको अवस्था सिर्जना नहुँदा र पुर्खौली सम्पत्तिबाट मात्रै परिवार हुर्काउन समस्या भएपछि  पैसा कमाउन भारत जाने गर्छन्, सुदूरपश्चिमवासी । कामको खोजीमा भारत जानका लागि नेपाल–भारत सीमा क्षेत्र कैलाली धनगढीको त्रिनगर भन्सार नाकामा नेपालीहरुको लर्को देखिएको छ ।

मुलुकमा संघीय संरचना अनुसार गाउँ–गाउँमा सिंहदरबार पुगेपछि घर व्यवहार चलाउनसम्म रोजगारी पाइन्छ भन्ने आशामा रहेका पश्चिमका मजदुर वर्गहरूको पहिलाकै नियति दोहोरिएको छ । अर्थात्, उनीहरुका लागि अहिले पनि गाउँमा रोजगारीका अवसर सिर्जना भएका छैनन् र घर व्यवहार चलाउनकै लागि परिवारबाट बिछोडिएर परदेशमा पसिना बगाउनु पर्ने बाध्यता छ । 

गाउँमा रोजगारी सिर्जना नभएको र गाउँमा बस्दा उल्टै ऋण मात्र लाग्ने हुँदा रोजगारीका  लागि भारतीय सहर जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

दशैंतिहार जस्ता ठूला पर्व मनाउन आएका मानिसहरु विस्तारै परदेशीन थालेसँगै गाउँघरको चहलपहलमा पनि केही कमी आउन थालेको छ । 

दसैँ तिहार मनाउन आएका केही मानिसहरु खेतीबाली लगाउँदासम्म पनि बस्ने गर्छन् । बाली भित्र्याएपछि उनीहरूको रोजगारीको गन्तव्य पनि त्यही भारत हुने गरेको छ । 

सुदूरपश्चिमका सबै लगाएत लुम्बिनी प्रदेशका केही जिल्लाबाट समेत रोजगारीका लागि भारत जानेको संख्या सयौं छ । उनीहरुले कमाएर ल्याएको रकमले देशको अर्थतन्त्रलाई समेत सघाउ पु¥याउँदै आएको छ। परिवार पाल्नकै लागि भारत जानु पर्ने बाध्यता वर्षौदेखिको भएपनि अझै यो अवस्थामा सुधार आएको छैन ।  

अहिलेसम्म पनि तीनै तहका सरकारले स्वदेशमा रोजगारीको न त कुनै योजना ल्याएका छन्, न त कुनै चासो नै देखाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update