काठमाडौँ । संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकिएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै आगामी माघ ११ गते निर्वाचन गराउने निर्णय गरेको हो । बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको छ ।
यसपटक २०८२ सालमा पदावधि सकिने १९ जना सदस्यहरु राष्ट्रियसभाबाट विदा हुँदैछन् । यीनै रिक्त पदपूर्तिका लागि निर्वाचन हुनेछ । यसपटकको पद रिक्त हुँदा केही पार्टीका प्रभावशाली नेताहरुसमेत बाहिरिने देखिन्छ । जसमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका महासचविल डा. वेदुराम भुसाल, नेकपा एकीकृत समाजवादीकै नेता वामदेव गौतम, एमालेबाट देवेन्द्र दाहाल, भगवाती न्यौपाने यसपटक राष्ट्रियसभा सदस्यबाट बाहिरिँदैछन् । यसमध्ये नारायणकाजी श्रेष्ठ, वेदुराम भूसाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने लगायत सदस्यहरु यही कार्यकालमा मन्त्रीसमेत बनेका थिए ।
कुन दलबाट कति बाहिरिँदैछन् ?
यसपटक १९ जनाको पदावधि सकिने भए पनि एकजना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् । यसबाहेक १८ जनाको लागि निर्वाचन हुनेछन् । यसरी पार्टीगत तवरबाट हेर्दा १८ मध्ये सबैभन्दा धेरै नेकपा एमालेबाट ८ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदैछ । त्यस्तै नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ जना बाहिरिँदैछन् ।
राष्ट्रियसभामा हालको अवस्था
५९ सदस्सीय राष्ट्रिसभामा अहिले माओवादी केन्द्र सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । माओवादी केन्द्रकोतर्फबाट राष्ट्रियसका अध्यक्ष नारायण दाहालसहित १८ सदस्य रहेका छन् । त्यस्तै काँग्रेसका तर्फबाट १६, त्यस्तै एमालेबाट पनि राष्ट्रियसभा उपाध्यक्ष उपाध्यक्षसहित १० जना रहेका छन् । नेकपा एसबाठ ८, जसपा नेपालबाट ३, मनोनीत २, राष्ट्रिय जनमोर्चाका १ र लोसपा नेपालका १ सदस्य रहेको छ ।
माओवादीलाई चुनौती, काँग्रेसलाई अवसर
आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा माओवादीलाई आफ्नो विरासत जोगाउन सकस पर्ने देखिएको छ । राष्ट्रियसभाको सबैभन्दा ठूलो दल रहेको माओवादी केन्द्रको ७ सदस्य रिक्त हुँदा आगामी निर्वाचनमा सोही संख्यामा विजयी प्राप्त गर्न माओवादी केन्द्रलाई सहज छैन । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्ने हुँदा राष्ट्रियसभामा काँग्रेस तथा एमालेकै बाहुल्यता रहने देखिन्छ ।
यद्यपि अघिल्लो पटकको राष्ट्रियसभा निर्वाचनमा एमाले–काँग्रेसले नै गठबन्धन गरेपनि माओवादीले सन्तोशजनक मत प्राप्त गरेको थियो । यदी यही अवस्था दोहोरिएमा भने माओवादीलाइलाई राहत मिल्नेछ । तरपनि स्थानीय तहमा काँग्रेस एमालेकै जनप्रतिनिधि संख्या अधिक रहँदा माओवादीविरुद्ध काँग्रेस एमाले नै हावी हुने खतरा देखन्छि । तर जेहोस् बदलिँदो राजनीतिक परिवेशमा मुख्य राजनीतिक दलहरु राष्ट्रियसभाको निर्वाचनमार्फत फेरि एक पटक आमनेसामने हुँदैछन् । यो निर्वाचनले फेरि एकपटक दलहरुको वजन जाँच्ने निश्चित देखिन्छ ।
